कर्म दिने अभिभावक महत्वपूर्ण हुनसक्छ: ढकाल



कार्यक्रममा बोल्दै रामकृष्ण ढकाल साथमा गीतकार तथा निर्माता अर्जुन सुवेदी र निर्देशक विधान कार्की । फोटो : केशव पाण्डे

काठमाडौँ।
गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्यूजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनिहरुसँग पनि विछोड भएपछि गर्नुपरेको संघर्ष देखाईएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरब पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै गायक ढकालले यस गीतले आफ्नो जीवनको केहि अंश प्रस्तुत गरेको बताए । आफ्नो संगीत क्षेत्रको संघर्षबारे बोल्दै उनले कहिले काहिँ जन्म दिने भन्दा कर्म दिने अभिभावक महत्वपूर्ण हुने बताए । उनले भने, “म पनि संगीत क्षेत्रमा निकै संघर्ष गरेर आएको हुँ । म जुन समय र परिवेशमा यस क्षेत्रको लागि घर नै छोडेर आएँ त्यहाँ मलाई कर्म दिने गोपाल कर्माचार्य भेटिनुभयो । अहिलेको जस्तो सहज परिस्थितीमा समेत कलाकार हुन निकै संघर्ष गर्नुपर्ने अवस्था छ भने मैले त्यो समयमा कति संघर्ष गर्नुपरेको होला ?” ढकालले थपे, “मैले पहिलो पटक वि.सं. २०४४ सालमा नेपाल ल क्याम्पसमा गीत गाएको थिएँ, त्यसपछि मैले नेपालका प्राय: सबै कलेजमा गीत गाएँ । म १२ बर्षको हुँदा २२ वटा गीत गाउँदै ‘ढकाल सुमधुर साँझ’ गरेपछि मैले आजसम्म पछाडी फर्किनु परेको छैन ।”

निर्माता तथा गीतकार सुवेदीले बाल्यकालमा आफुले देखेको सत्य घटनालाई आधार मान्दै यो गीत तयार गरेको बताए । नक्षत्र फाउन्डेशनका सिईओ समेत रहेका सुवेदीले उक्त अवसरमा फाउन्डेशनबारे चर्चा गर्दै नेपालका दुरदराजमा रहेका बालबालिकाको सुन्दर भबिष्यको लागि फाउन्डेशनले विभिन्न कार्यहरु गर्दै आएको बताए । उनले यहि माघ २८ गते झापाको बेलडाँगीमा फाउन्डेशनको तर्फबाट आयोजना हुने बिशेष कार्यक्रमको बारेमा पनि चर्चा गरेका थिए ।

भिडियो निर्देशक विधान कार्कीले समाजमा देखिने घटनालाई लिएर म्युजिक भिडियो बनाएको बताए । उनले यो गीतमार्फत जन्म दिने मात्र नभई कर्म दिने अभिभावक पनि उत्तिकै महत्वपूर्ण हुन्छन भन्ने सन्देश दिन खोजेको बताए ।

भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहाल हुन् । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दिपेन गौतम ‘माईकल’ले प्रडक्शन डिजाइन गरेका छन् भने हृतिका भट्टराई प्रोडक्शन कोअर्डिनेटर हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu