दश बर्ष पछि अभिनयमा फर्किँदै राजबल्लभ



काठमाडौँ।
आठ बर्षे चलचित्र करिअरमा २७ चलचित्रमा अभिनय गरेका चर्चित अभिनेता राजबल्लभ कोईराला दश बर्षपछि अभिनयमा फर्किन लागेका छन् । अन्तिम चलचित्र ‘छ एकान छ’मा अभिनय गरेका उनि त्यसयता अमेरिका बस्दै आएका छन् ।

शनिबार सोसल मिडियामा एक पोस्ट शेयर गर्दै कोईरालाले निर्माणाधिन चलचित्र ‘कामिनो’मा अभिनय गर्दै चलचित्र अभिनयमा फर्किन लागेको जनाएका छन् । उनले लेखेका छन्, “दाई नेपाली चलचित्रमा फेरी कहिले आउनु हुन्छ? यो बर्ष, ‘कामिनो’सँगै ।” त्यस्तै यो चलचित्रमा निर्देशक दिपक वलीले पनि सोसल मिडियामा पोस्ट गर्दै लेखेका छन्, “लोकप्रीय अभिनेता राजबल्लभ कोइरालादाईलाई चलचित्र ‘कामिनो’मा स्वागत गर्दछौ ।”

यस बिषयमा ठुलोपर्दासँग कुरा गर्दै कोइरालाले आफ्नो मुख्य भूमिका नै रहेको बताए । उनले भने, “महत्वपूर्ण र प्रमूख भूमिका मध्येको एक मेरो हो । अहिलेको लागि यति नै भनौँ ।”

कोईरालाले आफ्नो भागको छायांकन ब्राजिल र मेक्सिकोमा हुने बताए । अमेरिकाको क्यालिफोर्निया रहेका उनले चलचित्रका लागि नेपाल आउने बिषयमा माग र आवश्यकतामा आधार रहने बताए । उनि भन्छन्, “नेपाल आउन चलचित्र को नै जरूरी हुने होइन, माग र आवश्यकताको आधारमा हुन्छ । यसमा धेरै कुराहरुले भूमिका खेलेको हुन्छन् ।”

सन् २००७ को चर्चित चलचित्र ‘पर्खि बसेँ’बाट चलचित्रको अभिनयमा आएका कोइरालाले त्यसपछिका सात बर्षमा अभिनय गरेका २७ चलचित्रहरु मध्ये अधिकांश सुपरहिट बनेका थिए । उनले ‘गुरु दक्षिणा’, ‘छोडी गए पाप लाग्ला’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘मसान’, अपवाद’ जस्ता चलचित्रहरुमा प्रमूख भूमिकामा अभिनय गरेका छन् । त्यस्तै, नेपालमा छायांकन भएको हलिउड चलचित्र ‘हाईवे टु धम्पुस’मा पनि उनले प्रमूख भूमिका निभाएका छन् । यो चलचित्र सन् २०१३ मा रिलिज भएको थियो ।

बैशाखबाट छायांकनमा जाने यो चलचित्रमा अभिनेता प्रदिप खड्का र अभिनेत्री बर्षा शिवाकोटी पहिले नै भित्रिईसकेका छन् । एक्सेस नेपाल फिल्मस्को निर्माणमा बन्ने यो चलचित्रम सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेका छन् । चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् ।

यो चलचित्रमा प्रेम, रोमान्स र सस्पेन्स रहने निर्देशक ओलीले बताए । यो चलचित्र नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu