रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’ गीतको भिडियो रिलिज



काठमाडौँ।
गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईन विक चलिरहेको सन्दर्भमा प्रेमीहरुलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो । सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको भिडियो गायक ढकालको अफिसियल यूट्युब च्यानलमार्फत प्रिमियर भएको छ ।

गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामांगको अभिनय रहेको छ । सार्वजनिक भिडियोकी निर्देशक दीपा शाक्य हुन् ।

पहिलो पटक अभिनय गरेकी तामांगले समय र सन्दर्भ मिलेको खण्डमा आफुले अभिनयको क्षेत्रमा निरन्तरता दिने बताईन् । हाल उनि अष्ट्रेलियामा परिवारको साथ बस्दै आएकी छन् । छुट्टी मनाउन नेपाल आएको समयमा आफुले अभिनय गर्ने मौका पाएको र निरन्तरताको लागि कोशिस गर्ने जनाईन् । निर्देशक शाक्यले बीस बर्ष अगाडि अभिनयबाट आफ्नो यात्रा शुरु भएकोमा अहिले आएर निर्देशन गरिरहेको बताईन् । ‘जिम्बु झानेर’ उनको तेश्रो म्यूजिक भिडियो हो । उनि केहि समय बेलायत बसेर नेपाल आएकी हुन् ।

गायक ढकालले नव मोडल तामांगको प्रशंसा गरे । उनले चर्चित अभिनेता आकाश श्रेष्ठलाई नै टक्कर दिएर अभिनय तथा नृत्य गरेको बताए । ढकालले आफु अझै पूर्ण गायक नबनिसकेको बताउँदै आफुले गायनमा निरन्तरता मात्र दिएको बताए । सानै उमेरदेखि गायन यात्रा सुरू गरेका ढकालले लगभग पाँच हजार गीतमा स्वर दिएका छन् ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित तेक्वान्दो खेलाडी दिपक बिष्टले गायक ढकालसँग साथीत्वको लामो यात्रा तय गरेको बताउँदै सार्वजनिक गीतले निकै चर्चा पाउने बिश्वास व्यक्त गरे । प्रमूख अतिथिको रुपमा उपस्थित बरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले गायक ढकाललाई नेपालले प्राप्त गरेको सबैभन्दा ठुलो शान रहेको बताए । उनले ढकाललाई चिन्नु भनेको देशलाई चिन्नु रहेको बताए । त्यस्तै, निर्देशक शाक्य र मोडल तामांगको चर्चा गर्दै दुवैको कामको तारिफ गरे ।

कार्यक्रममा गायिका अन्जु पन्त र अभिनेता आकाश श्रेष्ठ भने कार्यव्यस्तताको कारण उपस्थित भएनन् । भिडियोका छायाँकार उत्तम हुमागाईं हुन् भने सम्पादक अमृत चापागाईं हुन् । भिडियोको छायांकन कास्की जिल्लाको घान्द्रुक र पोखरामा भएको हो ।

फोटो: केशव पाण्डे

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu