
काठमाडौँ।
नेपालकै दोश्रो ठुलो मल्टिप्लेक्स चेन ‘आईएनआई सिनेमा’को गोंगबुस्थित ल्होत्से मलमा रहेको थियटरमा आन्दोलनमा रहेका यातायात मजदुरहरुले लाखौँको क्षति पुर्याएपछि मंगलबार दिनभर बन्द भएको छ । मिडिया रिपोर्टका अनुसार करिब १५ लाख बराबरको क्षति भएको छ ।
सोमबारको आन्दोलनमा हलको टिकट काउन्टरमा प्रवेश गरी सिसा, माइक तथा टेलिभिजनदेखि अन्य संरचनामा तोडफोड भएको थियो । क्षतिबारे मुचुल्का र बीमा प्रक्रियाको लागि मंगलबारलाई हल बन्द गरिएको बताईएको छ । बुधबारदेखि भने हल नियमित सञ्चालन हुनेछ । काठमाडौँ उपत्यकाका अन्य हलहरु समेत सार्वजनिक यातायात बन्दका कारण मंगलबार दिनभरजसो खाली रहेका छन् ।

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै मजदुरहरुले सोमबार दिउसोदेखि आन्दोलन थालेका थिए । आन्दोलनका क्रममा उत्तेजित समूहहरुले प्रहरी बिटमा आगो लगाउने देखि, प्रहरी भ्यान जलाउने र ल्होत्से मलमा रहेका तीन मोबाइल पसल लुटपाट समेत गरेका थिए । मंगलबार सरकारसँग वार्ता गरेपछि आन्दोलनमा भएका घटना दुखःद रहेका र दोषीलाई कारवाही गर्ने सहमती समेत भएको छ ।