
काठमाडौँ।
‘नेपाली सिनेमा र पर्यटनलाई विश्व माझ लैजाने’ मुख्य नारासहित चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको आर्थिक सहर दुबईमा आयोजना गरेको चारदिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ले नेपाली फिल्मले औपचारिक रुपमा अन्तराष्ट्रिय बजारको लागि ढोका खुल्ला गरेको बताएको छ । सोमबार बोर्ड अध्यक्ष भुवन केसीको हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा माघ २९ गतेदेखि फागुन ३ सम्म भएको उक्त कार्यक्रमका मुख्य उद्देश्यहरु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेकोमा सो बमोजिम उत्कृष्ट कार्यक्रम भएको बताईएको छ ।

“अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण साबित भएको छ । यसबाट नेपाली फिल्मले औपचारिक रुपमा अन्तराष्ट्रिय बजारको लागि ढोका खुल्ला गरेको छ”, वक्तव्यमा भनिएको छ, “हामी नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका खोल्न युएईमा उक्त कार्यक्रम लिएर पुगेका थियौँ । बोर्डको पूर्वानुमान र कार्यक्रमको उद्देश्यअनुरुप नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार युएई बन्न सक्ने देखिएको छ । युएई मात्र होइन पूरै मध्यपूर्वमै नेपाली चलचित्रका वास्तविक दर्शक हुनुहुन्छ भन्ने बोर्डले ठानेको छ । नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन त्यहाँका फिल्ममेकरलाई आग्रह गरिएको छ भने नेपाली चलचित्र संयुक्त अरब इमिरेट्समा छायांकन हुँदा संयुक्त अरब इमिरेट्स सरकारबाट इन्सेन्टिभ (प्रोत्साहन) प्रदान गर्न पनि अनुरोध गरेका छौँ ।”
फेस्टमा बोर्ड अध्यक्ष भुवन के.सी. सहित संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघका ग्लोबल अध्यक्ष कुल आचार्य , हल सञ्चालक नकिम उद्दिन, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक तथा सञ्चारकर्मी भुषण दाहाल, निर्देशक रामबाबु गुरुङ, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, नायिका ऋचा शर्मा, नायक अनमोल केसी, नायिका उपासना सिंह ठकुरी लगायत दुबईस्थित व्यावसायीहरु र गैरआवासीय संघका प्रतिनिधिहरु उपस्थित भएका थिए ।

फेस्टमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिएको थियो । फेस्टको क्रममा ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा छलफल भएको छ । कलाकार, निर्माता, वितरक र प्रदर्शकहरुबीच भएको छलफलमा एफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिन, निर्देशक भुषण दाहाल, अभिनेत्री ऋचा शर्मा र मध्यपूर्व वितरक रमेश ढकाल सहभागि थिए । छलफलमा नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जान अब कसैले रोक्न नसक्ने यद्यपि नेपाली फिल्मले स्वदेश र विदेशमा पहिचान खोज्नुपर्ने बेला आएको लगायतका विषयहरूमा चर्चा भएको वक्तव्यमा उल्लेख छ, “छलफलबाट हामीले मौलिक कथा मात्र भन्न सकेको खण्डमा विश्व बजारको सम्भावना राम्रो रहेको निष्कर्ष निकालिएको छ । फिल्म निर्माण पैसाले मात्र नहुने भएर अध्ययन र सिर्जना महत्वपूर्ण हुने विषयमा पनि चर्चा गरियो । साथै, मध्यपूर्वमा नेपाली फिल्मको प्रदर्शन गर्न सम्बन्धित मुलुकको प्रक्रिया अनुसार जानुपर्ने र त्यहाँ हुने प्रचार-प्रसारमा नयाँ तरिकाहरु अपनाउनुपर्ने विषयमा पनि चर्चा भयो ।”

अबदेखि नेपाली फिल्म मध्यपूर्वका ६ वटा देशका ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने सहमति भएको पनि जनाईएको छ । यसको लागि नेपाली फिल्मका मध्यपूर्वका वितरक रमेश ढकाल र बोर्डले लिखित सहमति गरेको छ । जसअनुसार हरेक शुक्रवार मध्यपूर्वमा नेपाली फिल्म रिलिज गर्न चलचित्र विकास बोर्डले आवश्यक प्राविधिक सहयोग गर्ने, मध्यपूर्वमा निरन्तर ५० भन्दा बढी स्क्रिनमा नेपाली फिल्म सेन्सर गरी औपचारिक रुपमा प्रदर्शन गर्ने, निरन्तर रिलिज हुने नेपाली फिल्मको ‘इन्कोडिङ’को लागि बोर्डले ढकाल सञ्चालक रहेको नेपफिल्म प्रा.लि.लाई सहयोग गर्ने, निरन्तर प्रदर्शन हुने नेपाली फिल्मका लागि बोर्डले प्रचार प्रसारमा सहयोग गर्ने लगायतको सम्झौता भएको वक्तव्यमा उल्लेख छ ।

साथै, युएई सरकारको सम्बन्धित सरोकारवाला निकाय ‘मिडिया एण्ड फिल्म कमिशन’सँग नेपाली फिल्म रिलिजका साथै कला, संस्कृति प्रवर्द्धन गर्न सहकार्य गर्ने, मध्यपूर्वमा नेपाली फिल्म छायांकनका लागि आवश्यक औपचारिक अनुमति, डकुमेन्टेशन र सहजिकरण गर्ने तथा युएईका फिल्मकर्मीले नेपालमा फिल्म छायांकन गर्दा चलचित्र विकास बोर्डले आवश्यक सहयोग गर्ने सहितका बिषयमा पनि औपचारिक रुपमा छलफल भएको छ ।
फेस्टको क्रममा नेपालमा व्यावसायिक रुपमा सर्वाधिक कमाइ गरेको फिल्म ‘कबड्डी ४’ र यस वर्ष नेपालबाट अस्कर अवार्डमा पठाईएको फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरिएको थियो । ‘नेपाल सिनेमा फेस्ट–२०२३’ सुर्य कर्पोरेशन र गैर आवासीय नेपाली संघको व्यवस्थापनमा भएको हो ।
प्रेस वक्तव्यः