
काठमाडौँ।
आगामी चैत २४ गतेबाट रिलिज हुने नेपाली चलचित्र‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा सोमबार एक कार्यक्रमको आयोजना गरी अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर यो चलचित्रको ट्रेलर देखाइएको छ ।
प्रमोद कँडेलको लेखन र निर्देशन रहेको यस चलचित्रको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको छ । काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच उनमा देखिन्छ । यो चलचित्र यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका श्रीधर पौडेलले स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको ब्यानरमा बनाएका हुन् ।
कार्यक्रममा अभिनेत्री सुरक्षाले यो चलचित्रमाा आफु जोडिनु सुखद क्षण भएको बताइन् । उनले भनिन्, “कुनै चलचित्र आउँछन्, जान्छन्, तर यसका लागि मेरो बुझाई फरक छ । यस्तो चलचित्र दर्शकमाझ आउनुपर्छ । बहाव परिवार भित्रको विद्रोहको कथा हो । यसले नेपालको अधिकांश परिवारको कथा भन्छ ।”
लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए । “यो चलचित्रँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखें, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठूलो उपलब्धि थियो ।” निर्माता पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्न राजी भएको खुलाए । “उसको स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकी मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यहीकारण बहावको कथाले मलाई छोयो”, उनले भने ।
सुरक्षा र कमलमणिको साथमा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।
ट्रेलरः