
काठमाडौँ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिवार काठमाडौँमा भएको संघको १९ औं महाधिवेशनबाट प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पराजित गर्दै उनि निर्वाचित भएका हुन् । खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।
२०४५ सालमा यो संस्था स्थापना हुँदा देखि सक्रिय उनले यसअघि महासचिव, उपाध्यक्ष लगायतका पदमा रहेर काम गरेका थिए ।
दुई उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए भने महासचिवमा सबिन श्रेष्ठ विजयी भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह-कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
त्यस्तै, सदस्यमा शितल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरि विजयी बने भने गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भए ।
निर्वाचनमा कुल ४६ जनाको उम्मेदवारी परेको थियो भने सह-कोषाध्यक्ष पदका उम्मेदवार रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएकी थिइन् ।