
काठमाडौँ।
निर्माणाधिन चलचित्र ‘नांगो गाउँ’को ‘वर्कशप’ सकिएको छ । यो चलचित्रको लागि दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, अंकित खड्का र रवीन्द्र झाले १५ दिने कार्यशालामा भाग लिएका हुन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाल बाहिर रहेकाले वर्कशपमा सहभागी भईनन् ।
निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग समेत अलग-अलग रुपमा वर्कशप गरिएको बताईएको छ । कलाकारहरुलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका बिषयमा प्रकाश पार्न कार्यशाला आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । लामाले भने, “मैले अहिलेसम्म यति घनिभूत किसिमले वर्कशप गरेको थिइन । कलाकार तथा प्राविधिकहरुले सक्रियतापूर्वक सहभागीता जनाउँदा खुशी लागेको छ ।” कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिदैछ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? लगायतका बिषयमा विश्लेषण गरिएको निर्देशक लामाले उल्लेख गरे ।
हिमाल शर्माको निर्माणमा बन्न लागेको यो चलचित्र चैत्र १० गतेबाट छायांकनमा जाँदैछ ।