चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ रु. एक लाख सहयोग



काठमाडौँ।
स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु. एक लाख सहयोग गरिएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उहाँहरु रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले हस्तान्तरण गर्नुभएको थियो। सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह-कोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकारहरु उपस्थित हुनुहुन्थ्यो ।

सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठेरोमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि हामीसँग पर्‍याप्त रकम भईदिएको भए हामीले दिल खोलेर सहयोग गर्न सक्थ्यौँ । कोषबाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था पनि छैन । हामीसँग त्यो क्षेत्राधिकार नै छैन । पूर्वराष्ट्रपति विद्या देवि भण्डारीज्यूले कोषमा रकम जम्मा गर्नको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो, आशा गरौँ राज्यको तर्फबाट कोषमा उल्लेख्य रकम थप हुनेछ ।” साथै केसीले आफु अध्यक्ष भएर बोर्ड आउनेबित्तिकै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यो कुरा राखेको र त्यो समयमा उहाँ सकारात्मक रहेको बताउँदै राज्यले कलाकारहरुलाई बिशेष चासोमा राख्नुपर्ने आवश्यकता औँलाउनुभयो ।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौँको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो ।

वि.सं २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा आउनुभएका राणाले सय भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो । बसन्ती, बलिदान,दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्‍यो मेरो मन, दासढुंगा, दाग लगायतका चलचित्रहरुमा उहाँले अभिनय गर्नुभएको थियो । राणाको २०७५ माघ १८ गते ७८ बर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनपछि उनकी श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । जेठी छोरी नन्दनी पनि बिरामी परेकी थिइन् । राणाका छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu