
काठमाडौँ।
फेसन नेटवर्क नेपालले चलचित्र विकास बोर्डका अध्यक्ष तथा सुपरस्टार अभिनेता भुवन केसीलाई सम्मान गरेको छ । उक्त संस्थाले ठमेलको क्लब टेनएक्ससँगको सहकार्यमा गत शनिवार आयोजना गरेको “फेसन गाला नाइट” कार्यक्रममा केसीलाई नेपाली चलचित्र क्षेत्रप्रतिको समर्पण, प्रतिबद्धता र सफलताको कदर गर्दै ‘एफएनएन लिजेन्डरी आईडल’को उपमासहित सम्मानित गरेको हो ।
सम्मान प्राप्त गरेपछि अभिनेता केसीले योगदानको कदर गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । हामीसँग कुरा गर्दै उनले भने, “राज्यका विभिन्न तह र तप्कासँगै प्राईभेट क्षेत्रले पनि समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई कदर र सम्मान गर्ने बानीको विकास हुँदै गएको छ । यस प्रकारका सम्मानहरुले एक अर्काबीचको भाईचारा र सम्बन्धहरुलाई प्रगाढ बनाउँदै लैजान्छन् । म लगायत सम्मानित हुने सबैको तर्फबाट आयोजकलाई धन्यवाद दिन चाहन्छु ।”
नेपाली फेसन र सौन्दर्य उद्योगको विकासमा ठूलो योगदान र कडा परिश्रम गरेकोमा कदर स्वरुप उक्त कार्यक्रममा केसीसँगै अन्य १२ जनालाई पनि सम्मान गरिएको थियो । अन्य सम्मानित हुनेहरुमा फेसन एजुकेटर ज्ञानी शोभा तुलाधर, ब्यूटीशियन कमला श्रेष्ठ, पूर्व मिस नेपाल रुबी राणा, कोरियोग्राफर रचना गुरुङ शर्मा, फोटोग्राफरत्रय राजभाई सुवाल, गौतम धिमाल र महेश प्रधान, फेसन डिजाइनरद्वय मुक्ता श्रेष्ठ र रमिला नेमकुल, कस्ट्युम डिजाइनर राजेश धाखवा, सञ्चार उद्यमी पूजा मानन्धर र रनवे साउन्ड डिजाइनर भाइटल रहेका छन् ।
फेशन र सौन्दर्यको क्षेत्रमा काम गर्ने प्लेटफर्म फेसन नेटवर्कको उद्देश्य नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने रहेको सञ्चालक तथा चर्चित अभिनेता प्रशान्त ताम्राकारले बताए ।


