
काठमाडौँ।
बैशाख १ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जारी’ नेपालसहित अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा रिलिज हुने भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सका अनुसार स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग भएको छ ।
यसका निर्माता रामबाबु गुरुङले यो नेपाली चलचित्रको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । यो चलचित्र अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता रिलिज हुनेछ । क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुने पक्का भैसकेको छ ।
निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन् । अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत सिनेमाले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए । ‘जारी’ प्रदर्शन अगावै निर्मातालाई नाफामा लैजाने चलचित्र बनेको छ ।
पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथी यो चलचित्र निर्माण भएको छ । गत साता रिलिज भएको ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले विदेश व्यापारमा फाइदा मिलेको निर्माण टिमको बुझाई छ ।
यसमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।


