काठमाडौँ।
इन्डियन सिने फिल्म फेस्टिवल, मुम्बईमा स्पेशल फेस्टिवल मेन्सनबाट सम्मानित भएको नेपाली चलचित्र ’स्कूल’को अष्ट्रेलियामा च्यारिटी शो आयोजना हुँदैछ। एप्रिल अन्तिम साता आयोजना हुने सो च्यारिटीबाट सङ्कलित सम्पूर्ण रकम सामाजिक कार्यमा लगाइने भएको छ।
त्यहाँ संकलित सबै रकम ‘आशा नेपाल फाउन्डेसन’लाई प्रदान गरिने निर्देशक विश्व बस्नेतले बताए। यस चलचित्र निर्माणको उद्देश्य नै सामाजिक कार्यको लागि भएकोले आशा नेपाललाई रकम प्रदान गरिने बस्नेतले बताए। आशा नेपाल भारतको ‘रेड लाईट एरिया’मा बेचबिखनमा परेका नेपाली महिला र बालबालिकाको उद्धार र पुनःर्स्थापनामा समर्पित परोपकारी संस्था हो।
चलचित्रका सह-निर्देशक पूर्ण बहादुर कार्कीले यो चलचित्र लिएर अष्ट्रेलिया जाँदैछन्। उनि नेपालमा गैर नाफामुलक संस्थाहरुमा सक्रिय रुपमा संलग्न छन्। कार्की नेपाल चलचित्र निर्माता संघका सदस्य समेत हुन्।

यस चलचित्रमा विजय लामा, सुस्मिता बम्जन, निर शाह, बी.एस. राणा, रविन्द्र खड्का, कपिला थापा, रवि गिरी, विजय गिरी, धीरेन्द्रराज थापा, सूर्य दाहाल, मदन श्रेष्ठ, आर.पी. बस्याल, जीवन भट्टराई, सविन बस्नेत, प्रवल वाग्ले, गोविन्द मगर लगायतको अभिनय रहेको छ।