
काठमाडौँ।
विवादै विवादमा घेरिएको ‘प्रसाद २’ रिलिज हुन्छ कि हुन्न भन्ने प्रश्न उठिरहेको समयमा चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिने भएको छ । बोर्डमा उक्त चलचित्रसँग सम्बन्धित विभिन्न पक्षहरुबाट आर्थिक कारोबारमा समस्या रहेको भन्दै सेन्सर सिफारिस रोक्न निवेदनहरु परेपछि सोमबार सम्बन्धित पक्षहरुलाई बोलाई छलफल गरिएको थियो ।
यो चलचित्रका निर्माता सुबास थापाले एकभन्दा वितरकहरु तथा निर्माताहरुसँग पैसा उठाएको, उठेको रकमको हिसाब नदेखिएको, छायांकन स्थलमा खाएको बसेको पैसा नतिरेको, प्राविधिकहरु तथा क्यामेरालगायतका सामग्रीहरुको भुक्तानी नगरेको, यस चलचित्रमा सुरुमा नियुक्त भएका निर्देशकलाई दिनुपर्ने रकम नदिईएको तथा सुचारू नै नभएको बैंकको चेक दिई बेईमानी गरेको भनि विभिन्न निवेदनहरु बोर्डमा परेका थिए । त्यसो त अहिले अर्का निर्माता केशव पाण्डेले दायर गरेको बैंकिङ्ग कसुरमा मुद्दा चलेर पक्राउ पुर्जी जारी भएपछि निर्माता थापा सम्पर्कबिहिन छन् ।
चलचित्र प्रदर्शन नभई रकम प्राप्त हुनलाई झनै समस्या हुने बताउँदै छलफलमा सहभागिले चलचित्रको प्रदर्शन रोक्न नहुने राय दिएका थिए । रिलिजपछि हलबाट संकलन हुने रकमलाई श्रमजिवी तथा छायांकनस्थल ल्वाङ्गघलेलको होमस्टे सहित प्राथमिकताको आधारमा प्रदान गर्नुपर्ने सुझावसहित छलफल सकिएको थियो । जसको लागि नेपाल चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघ लगायतका सरोकारवाला संघसंस्थाहरुले सहजीकरणको लागि पहल अघि बढाउन सम्बन्धित पक्षहरुलाई छलफलमा सुझाव पनि दिईएको छ ।
छलफलपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्ड न्यायिक निकाय नभई अभिभावक संस्था रहेको हुँदा छलफलबाट समस्या समाधान गर्न सधैँ अगाडी बढ्ने बताए । केसीले नेपाली चलचित्र क्षेत्रको हितको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने र समस्यालाई साझा रुपमा लिएर त्यसको समाधानतर्फ लाग्न जोड दिए ।
छलफलमा बोर्ड अध्यक्ष भुवन केसी, चलचित्रका अर्का निर्माता सुदर्शन बस्नेत, सुरुमा लगानी गरेका केशव पाण्डे, निर्देशक सुदर्शन थापा, वितरकहरु गोपाल कायस्थ, करण श्रेष्ठ, गोविन्द शाही, केदार पराजुली, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदय, प्रोडक्शन कन्ट्रोलर मनोज केसी लगायत उपस्थित थिए ।


