
काठमाडौँ।
चर्चित हाँस्य कलाकार दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ’सुन्तली’को सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व नेपाल सरकारले लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार रंगशाला बनाउने क्रममा लागेको १८ करोड ऋण चुक्ता गरी सरकारले स्वामित्व लिने भएको हो।
विभिन्न एकीकृत बस्तीहरु निर्माण गरेको फाउण्डेशनले रंगशाला बनाउने क्रममा १८ करोड बराबरको ऋण बोकेको थियो। स्थानिय स्तरबाट स्वेच्छिक रकम संकलन, स्थानिय सरकारको सहयोग, गैर आवासिय नेपाली, धनधन्यांचल कार्यक्रम लगायतबाट संकलित रकमले समेत अपुग भई फाउण्डेशन ऋणमा डुबेको थियो। जसको कारण लामो समयदेखि निर्माण कार्य स्थगित भएको थियो। साढे तीन अर्ब रुपैयाँ लागतको उक्त आयोजनामा फाउन्डेसनले ५४ करोड रुपैयाँ खर्च गरेको छ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले केन्द्र सरकारलाई रंगशालाको स्वामित्व लिन मनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्। केहि दिन अघि चितवन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ रंगशालाको चासो लिएका थिए।




