पक्राउ पुर्जी आएपछि ‘प्रसाद २’का निर्माता सुबास थापा फरार, खोज्दै प्रहरी



काठमाडौँ।
नेपाली चलचित्रका निर्माता सुबास थापा प्रहरीको फरार सूचीमा परेका छन्। बैङ्किङ्ग कसुरमा जिल्ला अदालत ललितपुरले गत १३ गते पक्राउ पुर्जी जारी गरेपछि थापा सम्पर्कबिहीन भएका छन्।

उनले बनाएको पछिल्लो चलचित्र ‘प्रसाद २’ मा अर्का निर्माता केशव पाण्डेसँग हिसाब गडबड भएको थियो। तत्पश्चात लामो समय विवाद उत्पन्न भएपछि पाण्डेले करिब ५६ लाख रकम फिर्ता मागेका थिए। उक्त रकमको चेक लिएका पाण्डेले रकम झिक्न नसकेपछि चेक बाउन्स गरी उजुरी दिएका थिए। सोहि आधारमा थापा विरुद्द मुद्दा चलेको थियो।

हाल थापालाई जिल्ला प्रहरी परिसर, बैंकिंग कसुर अपराध अनुसन्धान तथा कारबाही शाखाले खोजी गरिरहेको छ। यसैबीच सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै थापाले आफ्नो नियत गलत नभएको तर परिस्थितिले आफुलाई अप्ठेरोमा पारेको बताउँदै सबैको हिसाब मिलाउने बताएका छन्।

यहि चैत २४ गते रिलिज हुन लागेको ‘प्रसाद २’को सेन्सर सिफारिस रोक्न माग गर्दै आधा दर्जन उजुरी चलचित्र विकास बोर्डमा परेका थिए। त्यसको बाबजुद सर्वपक्षिय छलफल गरी चलचित्र रिलिज हुन दिने निर्णय बोर्डले गरेको छ। छलफलमा चलचित्र रिलिज नभई कसैले पनि रकम प्राप्त गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकालिएको थियो। प्रदर्शनबाट उठेको रकम छायांकनस्थल, प्राविधिक, कलाकार, वितरक आदिले प्राथमिकताका आधारमा प्राप्त गर्ने वातावरण शृजना गर्न सुझाव दिईएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu