
काठमाडौँ।
उच्च अदालत पाटनले चैत २४ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । निर्माता सुबास थापा विरुद्ध बैंकिङ्ग कसूरमा मुद्दा हालेका केशव पाण्डेले प्रदर्शन रोक्न रिट निवेदन दिएका थिए । पाण्डेको मुद्दामा उच्च अदालत पाटनद्वारा नै पक्राउ पुर्जी जारी भएपछि गत सातादेखि निर्माता थापा फरार छन् ।
थापाले आफ्नो रकम नदिएसम्म चलचित्र प्रदर्शन रोक्नका लागि माग राखेर उच्च अदालत रिट निवेदन दायर गरेका थिए । चलचित्र निर्माणको सुरुवाती चरणमा निर्माताको रुपमा भित्रिएका पाण्डेले रकम अपचलन भएको र सम्झौताअनुसार काम नभएको भन्दै चलचित्रबाट बाहिरिने निर्णय गरी आफुले लगानी गरेको रकम फिर्ता मागेका थिए । सोहि क्रममा थापाले पाण्डेलाई चेक दिएका थिए तर चेक नसाटिएपछि बैंकिङ्ग कसूरमा मुद्दा चलाईएको थियो ।
आधा दर्जन आर्थिक लेनदेन र पारश्रमिक सम्बन्धि उजुरी परेपछि सोमबार चलचित्र विकास बोर्डले सम्बन्धित सबैलाई डाकेर छलफल गरेको थियो । उक्त छलफलमा पाण्डे उपस्थित थिए तर थापा भने आएनन् । सो छलफलमा चलचित्र प्रदर्शन रोक्दा कसैको पनि रकम असुली नहुने देखिएको तथा प्रदर्शन रोक्दा कसैको पनि हित नहुने देखिएपछि बोर्डले सेन्सर सिफारिस गर्ने र रिलिज पछि कलेक्शन भएको रकम प्राथमिकताको आधारमा बाँडफाँड गर्नुपर्ने सुझाव दिईएको थियो ।
पाण्डेले चलचित्रको प्रदर्शन रोक्न माग राखेका थिए । चलचित्र विकास बोर्डलाई चलचित्रको प्रदर्शन रोक्ने अधिकार नहुने देखेपछि उनले उच्च अदालत पाटनमा रिट दिएका हुन् ।