
काठमाडौँ।
उच्च अदालत पाटनले ‘प्रसाद २’ को रिलिज रोक्ने अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ । बिहिबार अन्तरिम आदेश खारेज गरिपाउँ भनि सो चलचित्रको निर्माण साझेदार कम्पनी एसजि फिल्मले दिएको निवेदन उपर बहस भएको थियो । बहसपछि न्यायधिशद्वय राजेन्द्र खरेल र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले आदेश रद्द गर्न अस्वीकार गरेको अधिवक्ता तारा श्रेष्ठले बताए ।
सुरुमा यस चलचित्रका निर्माता भनि चिनाईएका केशव पाण्डेको रिट निवेदनपछि चलचित्रको रिलिज रोक्न अन्तरिम आदेश जारी गर्दै अदालतले आगामी २६ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो । बिहिबारको बहसपछि भएको आदेशमा २६ गते नै सुनुवाई हुने जनाईएको छ ।
अन्तरिम आदेशलाई खारेज गरिपाउँ भनेर एसजि फिल्मको तर्फबाट राजु श्रेष्ठ र सुदर्शन बस्नेतले निवेदन दिएका थिए । एसजिको तर्फबाट अधिवक्ताद्वय डा. भिमार्जुन आचार्य र तारा श्रेष्ठले बहस गरेका थिए ।
चलचित्रका लागि निर्माता सुबास थापालाई झण्डै साठी लाख रुपैयाँ दिएका तर चलचित्रमा कतैपनि नाम समावेश नभएका पाण्डेलाई थापाले लगानी फिर्ता गर्दा दिएको चेक बाउन्स भएपछि बैंकिंग कसूरमा पक्राउ पुर्जी जारी भएको छ । निर्माता थापा भने फरार छन् । पाण्डेले निर्माता थापा अदालतमा हाजिर नभएसम्म रिलिज रोकिपाउँ भनि रिट निवेदन दिएका थिए ।