सेन्सरले रोक्यो चलचित्र ‘काँडेतार’, खड्काले भने, “अदालत जान्छु”



काठमाडौँ।
नेपालको सीमाना मिचिएको बिषय उठान गरेको नेपाली चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति नदिएको निर्माता नवल खड्काले बताएका छन्। हलमा प्रदर्शनको लागि सोमबार जाँचपासको लागि चलचित्र हेरिएको थियो।

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नु पर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको खड्काले बताए। उनले आफ्नो चलचित्र जस्ताको त्यस्तै हलमा रिलिज गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताए।

“यसबारे सेन्सर बोर्डसँगको अनौपचारिक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न अनुरोध गरेको छु। सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझि चलचित्र प्रदर्शन गर्न प्रमाणपत्र दिनेछ भन्नेमा आशावादी छु”, उनले भने “नदिएको खण्डमा न्यायका खातिर अदालत जाने, जनता, दर्शक साथ, सहयोग माग्ने, लिने अधिकार हामीमा सुरक्षित छ र हामी कुनैपनि दृश्य वा सम्वादहरू नकाटिकनै जस्ताको त्यस्तै दर्शक सामु पुर्‍याउनेछौँ”।

सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले फिल्म रोकेको नभई केहि संवाद र दृश्यहरुमा परिमार्जन गर्नुपर्ने देखिएकोले सोमबार नै प्रमाणपत्र नदिईएको बताए। “नेपाल र भारतको कुटनीतिक सम्बन्धका बिषय, केहि दृश्य तथा संवादहरुमा केहि परिमार्जन गरी पुन: बोर्डमा पेश गर्ने गरी पठाईएको हो”, आचार्यले बताए।

खड्का आफ्नै प्रमुख अभिनय तथा निर्देशन रहेको ‘काँडेतार’मा शिवम् अधिकारी र खड्काको लेखन रहेको छ। यसमा गौरव पहाडी, सुरविना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा, पुष्प श्रेष्ठ, बालकलाकारहरु नादिया खडका र सनया खडका लगायतको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu