‘मर्ने कसैलाई रहर हुँदैन’ | चलचित्र संगीत प्रभावबाट बालकको उद्दार हुँदै



सेतोपाटीबाट जस्ताको त्यस्तैः
dipesh-shrestha‘मर्ने कसैलाई रहर हुँदैन ……………’ नेपाली कथानक चलचित्र नाइ नभन्नु ल २ को यो शब्द गायक प्रेम परियारले टपक्क टिपेर कर्णप्रिय स्वर भरिदिए। त्यही गीतको पहिलो टुक्रामा सहयोगको अपिल मिसाएर गोरखाका पत्रकारहरुले बोर्लाङ ४ का ६ वर्षे बालक दिपेश श्रेष्ठको उपचारका आर्थिक सहयोग गर्न घरदैलो अभियान थाले।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखा, गोरखाको च्वाइस एफएम ९०.४ मेगाहर्ज र गोरखामा क्रियाशिल पत्रकारहरुले ब्लड क्यान्सर पीडित बालक दिपेशको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान थालेका हुन्। करीब एक हप्ताअघिदेखि थालिएको उक्त अभियानलाई गोरखा बजारबासी, छेवेटारबासी र गोरखा नै स्थायी घर भई रोजगारीका क्रममा यूकेमा पुगेका युवाहरुल्ो आर्थिक सहयोग गरेका छन्।

‘गोरखाको छेवेटारबजारबाट २८ हजार २ सय ६७ रुपैंया संकलन भयो’ पत्रकार महासंघ गोरखा शाखाका निवर्तमान अध्यक्ष सुशीलबाबु श्रेष्ठले भने, ‘सृजना बिकास केन्द्र, सृजना बैकिङ्क कार्यक्रम शाखा कार्यालय छेवेटारको अगुवाइमा दिपेशको उपचारका लागि रकम संकलन भएको हो।’ त्यसैगरी दिपेशको उपचारका लागि गोरखा बजारबाट करीब एक लाख आठ हजार, काठमाण्डौंका पुरुषोत्तमकुमार अग्रवालले १० हजार, गोरखास्थित ब्रम्हकुमारी बिश्वबिद्यालयले तीन हजार लगायत गरी बिहीबार साँझसम्म एक लाख ४७ हजार ४ सय १९ रुपैंया संकलन भएको च्वाइस एफएमकी समाचार प्रमुख अनुपमा खनालले जानकारी दिइन्।

६ वर्षे बालक दिपेशको काठमाण्डौंस्थित कान्ति बाल अस्पतालमा उपचार भैरहेको छ। ब्लड क्यान्सरपीडित उनको उपचारका लागि करीब ६ लाख चाहिने डाक्टरहरुले उनका अभिभावकलाई बताएका छन्। आर्थिक अबस्था कमजोर भएकाले बालक दिपेशको उपचारमा समस्या भएपछि पत्रकारहरुको अगुवाइमा गोरखामा आर्थिक सहयोग संकलन अभियान थालिएको हो। संकलन भएको रकम शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरी दिपेशको अभिभावकलाई बुझाउने कार्यक्रम रहेको बताइएको छ।

क्याप्सन : ब्लड क्यान्सरपीडित ६ बर्षे बालक दिपेश श्रेष्ठ कान्ति बाल अस्पतालमा उपचार गराउँदै। साथमा उनकी आमा राममायाँ। तस्विर सौजन्य : बिनोद ढकाल/उज्यालो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu