काठमाडौँ।
यसै साता रिलिज हुने नेपाली चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को काठमाडौँमा भव्य प्रिमियर भएको छ । प्रिमियरबाट यस चलचित्रलाई नेपाली चलचित्रमा पुरानो संरचना भत्काएको प्रतिक्रिया प्राप्त भएको छ । यसको प्रिमियरमा नेपाली चलचित्रकर्मीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रिमियरमा सहभागि चलचित्र निर्देशक प्रदीप भट्टराइले जे बिक्छ त्यही बनाउने चलनलाई भत्काउँदै रिनशा राई राणाले नयाँ बाटो खोजेको भन्दै प्रशंसा गरे । नायिका प्रियंका कार्कीले चलचित्र हेर्दा आँखालाई आनन्द आएको बताइन् । नायिका आना शर्माले यो चलचित्र हेर्दा पूर्ण रुपमा मनोरञ्जन मिलेको बताइन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले फिल्म पूर्ण रुपमा मनोरञ्जनात्मक बनेको र सन्देश पनि दिने खालको रहेको बताए । नेपालमा यो स्तरको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उनको भनाई थियो । नायिका केकी अधिकारी र रिमा विश्वकर्माले पनि चलचित्रको तारिफ गरे ।
रिनशा राई राणाको निर्देशनमा बनेको यस चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।