
काठमाडौँ।
नेपालको सीमाना मिचिएको बिषय उठान गरेको नेपाली चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति नदिएको भन्दै आफु अदालतसम्म जान बाध्य हुने बताईरहेका निर्माता तथा निर्देशक नवल खड्काले यो चलचित्र आफूले देशभक्तिका लागि बनाएको बताएका छन् । उनले आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मारिदिए पनि स्वीकार्य हुने धारणासमेत राखेका छन् ।
मंगलबार आयोजित एक कार्यक्रममा खड्काले देशभक्तिको विषयमा बनाएको ‘काँडेतार’ पैसा दिन्छु भन्दापनि स्टारले खेल्न नमानेको दुखेको पोखे । उनले भने, “विदेशमा भए देश भक्तिपूर्ण चलचित्र स्टारले सित्तैमा खेल्थे । मैले पारिश्रमिक दिँदा पनि चलेका कलाकारहरुले मेरो चलचित्रमा अभिनय गर्न मानेनन् ।” साथै उनले चलचित्र बनाउने क्रममा स्क्रिप्टमा नेपाल प्रहरीलेसमेत दुःख दिएको बताए ।
“ज्यानको बाजी थापेर देशभक्तिले ओतप्रोत फिल्म बनायौं, अहिले सेन्सरले दुःख दियो । मेरो फिल्म राष्ट्रियताको पक्षमा छ । फिल्म बिना काटछाँट रिलिज गर्न पाउनुपर्छ”, खड्काले बताए । खड्काले आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधान तथा गृह मन्त्री डा. भीम रावल, सांसद ज्ञानेन्द्र शाही, सामाजिक अभियन्ता प्रा.डा सुरेन्द्र केसी लगायतको उपस्थिती थियो ।
उपस्थिती सबैले यो चलचित्रले उठाएको विषयवस्तु देशको हितका खातिर भएकोले फिल्म प्रदर्शनमा रोक्न लगाउन नहुने बताएका छन् ।
खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नु पर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको खड्काले बताए । उनले आफ्नो चलचित्र जस्ताको त्यस्तै हलमा रिलिज गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताए ।