
काठमाडौँ।
आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को शुक्रबार ट्रेलर रिलिज भएको छ। यो चलचित्र सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र यसले दिएको पारिवारिक पीडालाई ट्रेलरमा उतारिएको छ। ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखिन्छ ।
कोभिड-१९ को कारण रिलिज धकेलिएको यो चलचित्रका लेखक र निर्देशक फूलमान वल हुन्। यसमा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी लगायतको अभिनय रहेको छ। निर्देशक वलले भुकम्पले भत्काएको मनहरुलाई ‘नीरफूल’मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए । उनले भने, ‘भुकम्पपछि भौतिक पुर्ननिर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुर्नर्निमाण अझै बाँकी छ। ‘नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो ।’
अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरु फिल्मको व्यस्तताको बिच ‘नीरफूल’लाई समय निकालेर रुवी भ्याली पुगेको बताए । उनले नेपाली चलचित्रमा समाज आएन, कन्टेन्ट आएन भन्ने आरोप लागिरहेको बेला ‘नीरफूल’ले त्यो अभाव पुर्ति गर्ने दावी गरे । धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको चलचित्र प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ । सोनाम डोमा कार्यकारी निर्माता रहेको यसमा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।
ट्रेलर हेर्नुहोस्:


