‘राष्ट्रिय बाल चलचित्र महोत्सव’को लागि चलचित्र आह्वान



काठमाडौँ।
चलचित्र विकास बोर्डले आगामी असार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा सहभागिताको लागि चलचित्र माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित शिक्षामुलक तथा सन्देशमूलक चलचित्रहरुको प्रदर्शनी गरिने कार्यक्रमको लागि केहि शर्तहरुसहित सार्वजनिक प्रदर्शनका लागि उपलब्ध गराउन आह्वान गरेको हो ।

महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्ने बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले बताउनुभयो । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुने बताईएको छ ।

महोत्सवमा चलचित्रहरुको प्रदर्शनी सँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, बालबालिकाहरुलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनिहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुऱ्याउने, आदि उद्देश्यहरुका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu