
काठमाडौँ।
मिलन चाम्सले निर्देशन गरेको नेपाली चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर लण्डनमा हुने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लण्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा आगामी सेप्टेम्बर १० तारिखमा प्रिमियर आयोजना गरिने जानकारी गराईएको छ ।
यदाकदा नेपाली चलचित्रहरुको प्रिमियर नेपाल बाहिरका मुलुकहरुमा हुने गरेको पाईयता पनि नेपाली चलचित्रको इतिहासमा नै पहिलोपटक यसप्रकारको प्रिमियर शो को आयोजना हुन लागेको निर्देशक चाम्सले बताए । उनका अनुसार दुई हजार बढी दर्शकले एकसाथ चलचित्र हेर्नेछन् । सो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको बताईएको छ ।
“धेरैले फजुल खर्च गर्न लागेको भन्ने टिप्पणी गर्नुभएको छ, तर नेपाली चलचित्रले पनि अन्तराष्ट्रिय मञ्च पाउनुपर्छ र हामी पनि त्यो गुणस्तरका चलचित्र बनाउन र देखाउन सक्ने भएका छौँ भनेर विश्वबजारलाई देखाउन पनि हामीले यस प्रकारको प्रिमियर आयोजना गर्न लागेका हौँ”, निर्देशक चाम्सले भने, “यो प्रिमियरको खर्चले एउटा नेपाली चलचित्र नै बनाउन सकिन्छ, तथापि नेपाली चलचित्रलाई त्यहाँ प्रिमियर गर्नु मेरो २० बर्षदेखिको सपना हो । आज त्यो सपना पुरा गर्ने अवस्थामा पुगेको खबर सुनाउन पाउँदा अत्यन्त खुसी छु ।”

सन् १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकको साहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । नेपाली, अँगंरेजी र हिन्दी भाषामा यो चलचित्र रिलिज हुँदैछ । लण्डन पछि सिंगापुर, हङकङ लगायतका अन्य केहि देशहरुमा प्रिमियरको लागि तयार भएको यो चलचित्रको नेपाल रिलिज भने टुंगो लागिसकेको छैन ।
यसको पोष्ट प्रोडक्सनको काम यतिबेला मुम्बई र लण्डनमा भईरहेको निर्देशक चाम्सले बताए । यो चलचित्रबाट रितेश चाम्सले अभिनयमा डेब्यु गरेका छन् । साथमा विजय लामा, रेबिका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कबिता आले, विरुप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।