
काठमाडौँ।
अभिनेता दयाहाङ राईले आफुलाई मनपर्ने चलचित्र ‘नीरफूल’ रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले आफुले अभिनय गरेको र हलमा सफलरुपमा चलिरहेको ‘जारी’ जसैगरी ‘नीरफू’ पनि मन परेको बताएका हुन् ।
उनले भने, “यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं । मेहनतले राम्रै काम पनि गरेका छौँ । मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हुनेछ । मौलिक विषयबस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको छ फिल्म हो यो । मेरा कैयौं फिल्मले ५१ दिन मनाउँदै व्यावसायिक सफलताको रेकर्ड पनि तोडेका छन् । तथापि बिषयबस्तु र मौलिकताको हिसाबले मलाई ‘जारी’ जस्तै अत्यन्त मन परेको अर्को फिल्म नीरफूल हो ।” अभिनेता राईले इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको बताउँदै भने, “नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ ।”
यो चलचित्र यही जेठ २६ गते रिलिज हुँदैछ । कोरोना महामारीको कारण रिलिज रोकिएको यो चलचित्र फूलमान वलले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशक वलले चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको बताए । उनले भने, “चलचित्रमा भुकम्प आउँछ, तर यो चलचित्र भुकम्पको कथा माथि हैन । हाम्रो समाज र जीवनमा आउने भुकम्प, करप्टेड सिस्टमले ल्याउने भुकम्प चाहिँ चलचित्रमा छ ।”
अर्का अभिनेता बुद्धी तामाङले नीरफूलको कथाबस्तु र तामाङहरुको मौलिक सँस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए । फिल्म समसामयिक बिषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उनले जिकिर गरे । आफु यो फिल्ममा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उनले खुलाए । अभिनेत्री शान्ति वाइबाले आफू रंगमञ्चबाट आएको बताउँदै रंगमञ्चबाटै स्थापित दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । उनले यो चलचित्रमा नायिकाको रुपमा डेब्यु गर्दैछिन् । अभिनेता राजन खतिवडाले आफुलाई यो फिल्मको कथा र बिषयबस्तु अत्यन्त मन परेको बताउँदै यो चलचित्र नेपाली सिनेमा उधोगको लागि मानक सिनेमा बन्न सक्ने विश्वास गरे ।
कलाकार मानस राजले आफुलाई गायकको रुपमा चिनेका श्रोता दर्शकले यो चलचित्रमा फरक अवतारमा पाउने बताए । जिग्मे छ्योकी घिसिङ आफु यसअघि गायिकाको रुपमा परिचित भएपनि नीरफूलले आफुलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गरिन् । भूकम्पको बेला उपचार गर्ने नाममा हराएको बालिकाको भूमिकामा आफु रहेको उनले बताईन् ।
भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् ।
नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रमा डोमा सोनाम कार्यकारी निर्माता हुन् । चलचित्रलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् । चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । फिल्मका गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।