
काठमाडौँ।
नेपाल चलचित्र कलाकार संघको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटि बिभिन्न बिषयमा ध्यानाकर्षण गराएको छ । शनिवार भएको भेटमा नेपाल चलचित्र कलाकार संघको परिचय पत्र वाहक कलाकारहरुलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता, धापासी स्थित संघको नाममा रहेको जग्गा उपभोग समेतका मागहरु प्रस्तुत भएका छन् ।
संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले भ्रष्टाचार, दण्डहिनता, अनियमिता लगाएका विषयमा सरकारले गरेका कामकारबाही एवं पहललाई स्वागत गर्दै विशिष्ट चलचित्रकर्मीहरु लगायत जनसाधारणले जम्मा गरेको अर्बौं रकम सिभिल सहकारीले अपचलन गरेकोमा सो रकम सम्बन्धितलाई फिर्ता गराउन अनुरोध समेत गरिएको थियो ।
संघका अध्यक्ष निरौलाले मागहरुका बिषयमा मन्त्री श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेको बताए । मन्त्रीसँगको भेटको लागि संघकी संरक्षक बसुन्धरा भुसाल, सल्लाकार दिनेश डि.सी., विशिष्ट कलाकारहरु भुवन चन्द र चैत्यदेवी सिंह, कलाकार सरिता लामिछाने, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य चेतन सापकोटा, निर्वतमान अध्यक्ष रविन्द्र खड्का सहित संघका कार्यसमितिका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए ।