हलमा पुनः फर्कियो ‘हल्कारा’, निर्देशक भन्छन्, ‘नसोचेको भईरहेको छ’



काठमाडौँ।
गत बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले उत्कृष्ट प्रतिक्रियाका बाबजुद दर्शकको उपस्थिति न्यून भयो । दोश्रो हप्ता पुग्दा प्रायः हलहरुबाट निस्केको यो चलचित्र सुन्धारास्थित सिटिसि मलमा रहेको ‘सिडिसि सिनेमा’मा भने साँझ ५:३० बजेको शो चलिनै रह्यो । पुरै दोश्रो हप्ता एक मात्र हलमा चलेको ‘हल्कारा’ तेश्रो हप्ताको शनिवार सिडिसि सिनेमा कै अर्को हलमा समेत थपियो । यो क्रम अब अर्को चलचित्र हल विश्वज्योती हलसम्म पुगेको छ ।

गणतन्त्र दिवसको दिन रिलिजको तेश्रो हप्ताको सोमवारदेखि विश्वज्योती हलमा साँझ ६ बजेको शो थपिएको छ । विश्वज्योती हलका म्यानेजर रविन पौडेलले लगातार सोधिन थालेपछि शो राखेको बताए । उनले भने, “विश्वज्योतीबाट पहिले नै उत्रिएको भएतापनि पछिल्ला केहि दिनयता लगातार दर्शकहरुको सोधपुछ आउन थालेपछि शो राखेका हौँ । सोमवार सानो हलमा राखिएको शो लगभग हाउसफुल भईसकेको छ । मंगलबारदेखि ठुलो हलमा पनि रिलिज गर्दैछौँ ।” त्यस्तै, सिडिसि सिनेमाका सञ्चालक जीवन शाक्यले आफ्नो हलमा लगातार सफल रुपमा ‘हल्कारा’ चलिरहेको बताए । उनले कहिलेकाहिँ दुई शो समेत चलिरहेको बताए ।

चलचित्रका निर्देशक विक्रम सापकोटाले ढिलै भएपनि दर्शकको रोजाईमा परेकोमा खुशी व्यक्त गरे । उनले भने, “मैले सोचेको थिएँ प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकहरुको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन । तेश्रो हप्तामा आईपुग्दा भने नसोचेको भईरहेको छ ।” अभिनेता महेश त्रिपाठीले ढिलै भएपनि दर्शकको चासो बढेकोमा दंग रहेको प्रतिक्रिया दिए ।

प्रदर्शनपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिवभलहरुमा अवार्डहरु हात परेको यो चलचित्रले समिक्षकहरुको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यस चलचित्र हल्कारामा महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ भने विनिता थापामगर, प्रकाश दाहाल , स्व. दिपक क्षेत्री , शारदा गिरी ,पशुपति राई लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu