भेडागोठालो बन्नु सजिलो रहेनछः दयाहाङ राई



काठमाडौँ।
एक बर्षमा अभिनेता दयाहाङ राईले अभिनय गरेका करिब छ वटा चलचित्र रिलिज हुन्छन् । २०८० को बैशाख १ गते त उनले अभिनय गरेका दुई चलचित्रहरु एकसाथ रिलिज भएका थिए । दुई मध्ये ‘बिहे पास’ नामक चलचित्रले व्यापार घाटा सहनुपर् यो भने अर्को चलचित्र ‘जारी’ले रिलिजको ५१ दिन पार गरिसकेको छ भने भने व्यापारको हिसाबमा उछाल ल्याएको छ । यसैबीच उनको नयाँ चलचित्र ‘नीरफूल’ पनि रिलिजको संघारमा आईपुगेको छ ।

यो चलचित्र यही जेठ २६ गते रिलिज हुँदैछ । छायांकनमा रहेको चलचित्र ‘दिमाग खराब’को सेटबाट फुर्सद निकालेर उनले यो चलचित्रको प्रचार प्रसारलाई समय दिईरहेका छन् । यसैबीच पत्रकारहरुसँग कुरा गर्दै अभिनेता राईले ‘नीरफूल’ले नेपालको राज्य व्यवस्थाको अत्यासलाग्दो कथा यो चलचित्रले भन्ने बताएका छन् । महाभुकम्पले आफ्नो थातथलो नेपालको नक्साबाटै गुमेको र भूकम्पपछि आफ्नो परिवार नै हराएको नीरिह नेपाली नागरिकको भूमिकामा रहेका राईले आफ्नो नागरिक प्रति यो राज्य कतिसम्म गैर जिम्मेवार रहेको छ भन्नेकुरा आफ्नो पात्रमार्फत यसमा देखिने बताए । उनले भने, “यतिमात्र होइन, नीरफूलले पहिचानवादी मुद्धालाई बलियोसँग उठाएको छ । मुलुकमा बेरोजगार नेपाली केही वर्ष बिदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँनै नभेटिनु जस्तो बिडम्बना के हुन सक्छ ?” अभिनेता राईले भूकम्पको बिषय सहायक रहेको र मूल कथाको बारेमा हलमा नै गएर थाहा पाउन अनुरोध गरे ।

छायांकन अनुभवबारे बोल्दै राईले आफ्नो चरित्र दर्शकको लागि रोचक हुने दावी गरे । उनले भने, “जीवनमा मैले कहिल्यै गोठालो भएर भेडा चराएको थिईन । भेडालाई कसरी माथील्लो भुभागमा लैजाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे बिशेष कला जानेको हुनुपर्दो रहेछ । यो चलचित्र खेलेपछि आफुले भेडी गोठालो बन्न सजिलो रहेनछ भन्ने थाहा पाएँ । गोठाले भन्ने काम बाहिरबाट हेर्दा जति सजिलो छ, गर्न त निकै गाह्रो पो हुँदो रहेछ ।”

कोरोना महामारीको कारण पहिले रिलिज रोकिएको यो चलचित्र फूलमान वलले लेखन तथा निर्देशन गरेका हुन् । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् ।

नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रमा डोमा सोनाम कार्यकारी निर्माता हुन् । चलचित्रलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् । चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । फिल्मका गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu