
काठमाडौँ।
बिहीवार देखि सुरु हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करणमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालले ‘मास्टर क्लास’ दिने भएका छन् । काभ्रेको भकुण्डेबेसीमा हुने महोत्सवमा तेस्रो दिन क्लास सञ्चालन हुने आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले बताए । उनका अनुसार क्लासको बिषय ग्रामीण चलचित्र रहनेछ ।
‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदैछन् । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । काठमाडौंबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन् ।


