काठमाडौँ।
यहि शुक्रवार रिलिज हुन लागेको नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । मंगलवार साँझ काठमाडौँमा आयोजित प्रिमियर शो मा चलचित्र टिमसँगै चलचित्रकर्मीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
शोमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै यसका निर्देशक सरोज पौडेलले यो चलचित्र नितान्त मनोरञ्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरे । उनले भने, “हामीले यो एउटा प्रयास गरेका छौँ । अर्को कुरा म पनि यसै चलचित्रबाट निर्देशन यात्रा थालेको छु । आशा छ दर्शकले मेरो यो उद्योगमा आगमनलाई सहर्ष स्विकार्नुहुनेछ ।” अभिनेता बुद्धी तामाङले अरु चलचित्रमा भन्दा यसपटक केहि फरक प्रयास गरेको र दर्शकले चलचित्र हेर्दासम्म दिक्क नमान्ने बताए । अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो चलचित्रले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखे ।
वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतारचढाव लगायतका मिश्रित कथामा बनेको यो चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय रहेको छ ।