मधेशका महिला कथाकारको लागि कार्यशाला आयोजना, उत्कृष्ट कथाहरुमा चलचित्र बन्ने



काठमाडौँ।
पुरुषप्रधान चलचित्र क्षेत्रमा महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको सिर्जना गर्ने लक्ष्य सहित मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–चलचित्रको पटकथा लेखन कार्यशालामा दोस्रो चरणको बन्द–सप्ताह कार्यक्रम सुरु भएको छ । “टेल योर स्टोरी – (मधेश च्याप्टर)“ नामक कार्यशालाले महिला सशक्तिकरण तथा सिर्जनात्मक विविधताको समवेशिता मूल उद्देश्य राखेको छ ।

बुधवारबाट काठमाडौँमा सुरु दोस्रो चरणको बन्द–सप्ताहमा जेठ १६ देखि जेठ २० सम्म भएको पहिलो चरणको भर्चुअल कक्षामा निवेदनमार्फत छानिएका १७ प्रशिक्षार्थी मध्ये ९ प्रशिक्षार्थीलाई दोस्रो चरणको कार्यशालाका लागि चयन गरिएको बुधवार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । जेठ २४ देखि जेठ २९ सम्म सन्चालन हुने दोस्रो चरणको कार्यशालामा प्रशिक्षार्थीहरूलाई नेपालका ख्यातिप्राप्त चलचित्रकर्मी तथा कथाकारले कथालेखनका विषयमा सल्लाह तथा मार्गदर्शन प्रदान गर्ने बताईएको छ । यो कार्यशालामा शिवानी सिंह थारु, सरिता शाह, सम्पदा मल्ल, नबिन सुब्बा, मुना गुरुङ्ग, दीपक रौनियार, अन्बिका गिरी र अबिनाश बिक्रम शाह ‘मेन्टर’को रुपमा रहेका छन् ।

“मधेशका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै चलचित्रको पर्दामा उत्रिने मौका पाउँछन् । तसर्थ, पटकथा लेखनका आधारभूत ज्ञान प्रदान गरेर तिनै अनुभवलाई मधेशकै सम्भावना बोकेका महिला कथाकारको आवाजमा छोटो चलचित्रको पटकथाको रूप दिनु नै “टेल योर स्टोरी“ कार्यशालाको प्रमुख लक्ष्य रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “टेल योर स्टोरी – (मधेश च्याप्टर) कार्यशाला महिला कथाकारहरूलाई आफ्ना जीवनुभव पटकथाका रूपमा उतार्नका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नमा दत्तचित्त लागेको छ । कार्यशालाको अन्त्यमा तीन छोटा पटकथा छानिनेछन्, जसलाई मधेशकै चलचित्रकर्मीहरूबाट चलचित्रका रूपमा विकास गरिनेछ ।”

यो कार्यशाला फिल्म इन्डिपेन्डेन्ट अन्तर्गतको ग्लोबल मिडिया मेकर्सको सहयोग, तथा नेपालस्थित अमेरिकी राजदुतावास तथा शिक्षा फाउन्डेसन् नेपालको सहकार्यमा सन्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu