मेरो उद्देश्य हिरो बन्नु थिएन, आमाको इच्छा पुरा गरेको हुँः पाण्डे



काठमाडौँ।
केहि बर्ष पहिले सुरज पाण्डेको नाम नायकको रुपमा नेपाली चलचित्र क्षेत्रमा आएको थियो । उनले २०७४ वैशाखमा रिलिज भएको चलचित्र ‘लभ लभ लभ’मा अभिनेत्री स्वस्तिमा खड्कासँग अभिनय गर्दै अभिनेताको दौड सुरु गरेका थिए । तर, उनि त्यसपछि अभिनयबाट अलप भए । अब भने सुरज निर्देशकको रुपमा देखा परेका छन् । उनले ‘परस्त्री’ नामक चलचित्र निर्देशन गरेका छन्, जुन चलचित्र असार १५ गते रिलिज हुँदैछ । होम प्रोडक्शनबाट बनेको यो चलचित्र नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । नेपाली र हिन्दी भाषामा एकसाथ छायांकन गरिएको यो चलचित्रको प्राविधिक काम समेत भारतमा नै भएको छ ।
प्रस्तुत छ सुरजको चलचित्र यात्रामा आधारित रही ठुलोपर्दा डटकमका जीवन पराजुलीले गरेको कुराकानीको संपादित अंशः

  • तपाईंको सपना हिरो बन्ने थियो, निर्देशनमा किन ?
    विद्यालय जीवनदेखि नै मेरो सपना भनेको चलचित्र निर्देशन गरेर अस्करसम्म पुग्ने थियो । मेरो ममीलाई चलचित्र बनाउने इच्छा थियो, सँगै मलाई हिरो बनाउने पनि इच्छा थियो । ममीले मलाई नै हिरो बनाउँछु भनेर चलचित्रको काम अगाडी बढाएपछि मैले नकार्न सकिन । त्यसकै लागि मैले मेरो शारिरिक तौललाई हदैसम्म घटाउन कडा परिश्रम गरेँ र सफल पनि रहेँ । मेरो चाहना त चलचित्र निर्देशन नै हो, जसकारण ‘परस्त्री’ बनेको हो ।
  • हिरोमा नचल्ने भएपछि निर्देशक बनेको भन्ने आरोप छ । कसरी खण्डन गर्नुहुन्छ ?
    मैले भनि नै सकेँ कि मेरो उद्देश्य हिरो बन्नु हुँदै होइन । मेरो उद्देश्यमा नै नपरेको कुरामा म कति सफल र कति असफल भनेर अल्झिन चाहन्न । ममीको पनि इच्छा पुरा भयो, मैले पनि अभिनयबाट चलचित्र बुझ्ने गतिलो मौका पाएँ । दिपेन्द्र खनालजस्तो अनुभवी निर्देशकबाट मैले अभिनयको आदेश पाउँदाको अनुभवले मलाई निर्देशक बन्न सहज बनायो । होम प्रोडक्शनबाट मात्रै ६ वटा चलचित्र बनिसकेको छन् । मेरो चाहना हिरो नै बन्ने हुन्थ्यो भने मैले अन्य कुनै न कुनै चलचित्रमा फेरी प्रयास गर्थें होलानी हैन र ?
  • आमाले लगानी गरेको चलचित्र नै किन निर्देशन गर्नुभयो ?
    निर्देशनमा मेरो योजना पुरानै थियो । मैले ‘परस्त्री’ नै निर्देशन गर्नुको कारण आमाको लगानी होइन, यसको कथा राम्रो भएर हो । यत्तिको कथामा बन्ने चलचित्रबाट म निर्देशन यात्रामा निस्किएँ भने गन्तव्य भेटाउँछु भन्ने लोभ लागेको हो । अन्य कसैको लगानीमा बनेको भएपनि मलाई यसको अफर आएको हुन्थ्यो भने मैले निर्देशन गर्थें ।
  • निर्माता शर्मिला पाण्डेसँग निकै पैसा छ भन्छन् ? परस्त्रीमा कति लगानी गर्नुभएको छ ?
    निर्देशकको हिसाबमा भन्दाखेरी उहाँसँग कति पैसा छ मैले सोधेको छैन । मैले यो चलचित्र बनाउँदा लाग्ने जति पैसा पाएको छु । दुई भाषामा खिचेको भएर र मेकिङ्गको क्रममा अलि धेरै खर्च गरेको भएर यसको बजेट केहि उच्च भने देखिन्छ । हालसम्म यति नै खर्च भयो भन्ने हिसाब पुरा भएको छैन । खर्च हुने ठाउँ अझै बाँकी नै छन् । निर्माताको छोराको हिसाबले भन्ने हो भने खानलाउन दुःख अहिलेसम्म छैन । भोली कसले देखेको छ र ?
  • भारतमा चलाउनको लागि के के प्रयास गर्नुभएको हो ?
    यो चलचित्रको छायांकन नै दुई भाषामा भएको हो । भारतमा दर्ता गर्ने समयमा पनि हिन्दी स्वरांकन नभई हिन्दी भाषामा नै बनेको भनेर दर्ता गरिएको छ । हाल भारतमा सेन्सर हुने प्रक्रियामा छ । भारतीय चलचित्र चलाउनको लागि लाग्ने प्रक्रिया सबै पुरा भएको छ । त्यसको जिम्मेवारी भारतकै वितरकले लिनुभएको छ ।
  • नेपालमा भन्दा भारतमा बढि लगानी गर्नुभएको छ रे ! के यो साँचो हो ? हो भने कुन शिर्षकमा कसरी खर्च हुने रहेछ ?
    यो कुरा सत्य नै हो । अवश्यपनि नेपालमा भन्दा भारतमा बढि बजेट लाग्छ नै । त्यहाँ हरेक कुरा महंगो छ । गीत रेकर्डिङ्ग, गायन, डबिङ्ग देखि प्रचारप्रसारसम्म सबै यहाँभन्दा महंगो नै रहेछ । त्यसमाथि यो चलचित्रको प्राविधिक काम मुम्बईमा भएको छ । खर्च त बढ्ने भैहाल्यो ।
  • पहिलो चलचित्रको एक्साइटमेन्ट कस्तो छ ?
    म त एकदम एक्साइटेड छु । अब रिलिजपछि के हुन्छ, हेर्दै जाम ।
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu