‘नालापानी’को च्यारिटीमा चलचित्र ‘कोतपर्व’बारे जानकारी



काठमाडौँ।
बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए ।

प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आथित्यतामा भएको सो च्यारिटी कार्यक्रममा ‘कोतपर्व’का निर्देशक, लेखक तथा निर्माता परिचय गराईएको छ । यस चलचित्रका निर्देशक अधिकारीको कम्पनी ‘रिमेश अधिकारी फिल्मस’ र यस चलचित्रका एशोसियट निर्देशक श्रीदेव बिएलको कम्पनी ‘श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्ट’को संयुक्त ब्यानरमा यो चलचित्र बन्ने जानकारी गराईएको छ । जसका कार्यकारी निर्माता शिवचन्द्र रहेका छन् भने आरसि शर्मा र सारदा खड्का अर्याल निर्माता र राजेन्द्र ढकाल (राजु) र राजाराम सुवाल सह निर्माता रहेका छन् । ‘कोतपर्व’लाई महेश दवाडीले लेखिरहेका छन् ।

‘कोतपर्व’बारे विस्तृत जानकारी तथा कलाकारहरु र सम्पूर्ण टिमसहित केहि समयपछि पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने निर्देशक अधिकारीले बताए । उनले ‘नालापानी’ देखाएको मौका छोपी निर्माता टिम परिचय गराएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सात बर्ष लगाएर ऐतिहासिक चलचित्र ‘नालापानी’ बनाएकोमा धन्यवाद दिँदै नयाँ चलचित्र ‘कोतपर्व’लाई सफलताको शुभकामना दिँदै नेपालमा पछिल्लो समय इतिहास बिर्सने, इतिहास नपढ्ने र कतिपय ऐतिहासिक दस्तावेजहरु हुनुपर्ने ठाउँमा नहुने देखिएको बताए । “त्रिभुवन विश्वविद्यालयमा अहिले इतिहाससँग सम्बन्धित प्राध्यापकहरु हुनुहुन्छ तर, पढ्ने विद्यार्थी छैनन् । जुन देशको कला संस्कृति र इतिहासमा यस प्रकारको विपद आउँछ, यसले सामजिक विचलन ल्याउँछ”, ढकालले भने, “कला, संस्कृति, धर्म र इतिहासको विचलन आउने बित्तिकै समाजमा विचलन आउँछ । हामीले ति लक्षणहरु भोगिसकेका छौँ ।” ढकालले आफ्ना छोराछोरीलाई हाम्रा गर्विला इतिहासलाई पढ्न, सुनाउन अग्रसर रहनैपर्ने बताए ।

नेपालीको कला र संस्कृतिलाई विश्वमाझ पुर्‍याउने उद्देश्यका साथ सक्रिय ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ले आयोजना गरेको च्यारिटी कार्यक्रममा ‘वीर विभुती बलभद्र कुँवर प्रतिष्ठान’का अध्यक्ष प्रा.डा. धनबहादुर कुँवर, ‘महान योद्धा वीर बलभद्र स्मृति समाज’का अध्यक्ष रामराजा कुँवर (बलभद्र कुँवरका पाँचौ पुस्ता) र ‘कुँवर समाज’का अध्यक्ष डा. देशराज कुँवरलाई सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu