सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा रिलिज हुने, यस्तो बन्यो पोस्टर



काठमाडौँ।
अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ ।

यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ । चलचित्रको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए ।

“पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ । त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाए । हामी एक्काइसौ शताब्दीमा छौं, समानताको कुरा गर्छौं तर कर्म गर्दैनौँ । मैले यो सिनेमाको माध्यमबाट कर्म गर्न खोजेको हो”, उनले बताए ।

निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए । उनले त्यसकारण नै चलचित्र बनाएको बताए । यहि चलचित्रबाट चलचित्र अभिनयमा प्रवेश गरेकी प्रमिला कार्कीले नयाँ भएको कारण अग्रजहरु सँग काम गर्ने आफ्नो ईच्छा रहेको बताइन् । उनले भनिन्, ‘पहिलो चलचित्र नै सबै अग्रज हरु संग काम गर्न पाउँदा एकदमै खुशी छु । उनले आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्देशक सरोज खनाल लाई बिशेष धन्यवाद दिन चाहन्छु ।’

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu