संसदमा उठ्यो ‘आदिपुरुष’को विवाद, असिमले भने, “बालेनले सहि गरे”



काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालमा मात्र नभई भारतमा पनि ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याए कामनपामा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएपछि सो प्रसंग संसदमा पुगेको छ । प्रतिनिधि सभा सदस्य असिम शाहले यो प्रसंगलाई उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार संसदमा बोल्दै शाहले भने, “चलचित्र आदिपुरुषको सीता भारतको भन्ने सम्वाद ले जुन विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित संवाद काटेर पठायो र नेपालको लागि सेन्सर पास पनि भयो । तर, काठमाडौँका मेयर बालेन शाहले भारतमा पनि उक्त सम्वाद नहटाएसम्म कुनै पनि हिन्दी चलचित्र काठमाडौँमा चल्न नदिने भनेपछि अन्यौल छाएको छ । क्यूएफएक्स सिनेमाज् लगायत हलले सरकारबाट स्पष्टिकरण नआए सम्म चलचित्र प्रदशन रोकेका छन् ।”

शाहले थपे, “चलचित्र आदिपुरुष को कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उताको भनेको छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ । हाम्रो इतिहास माथि छिमेकबाट यस्तो भइरहदा हामीले भन्न सक्नु पर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर । सरकारले सास दबाएर बसे पछि कोही न कोहीले कुनै न कुनै बेला बोल्नै पर्थ्यो, बालेनले बोले सहि गरे परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले पनि यसलाई गम्भीर रुपमा लिनु पर्छ ।”

उनले नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरुलाई सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट प्रतिक्रिया देखिनु स्वभाविक रहेको बताए । उनले भने, “यसलाई सरकारको स्तरबाट उचित सम्बोधन हुनु पर्छ । नत्र भने जनस्तरबाट आउने यस्ता कुराहरुले दुई देशबीचको सम्बन्ध र समाजलाई नै नकारात्मक असर पुग्ने जोखिम रहन्छ। विवादित बिषय समेटेर भारतलाई कूटनीतिक नोट पठाउन सरकार को ध्यानाकर्षण गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu