
काठमाडौँ।
नेपाली चलचित्र ‘गोर्खा वारियर’को लण्डनमा हुने प्रिमियरमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङ्ग प्रमुख अतिथीको रुपमा सहभागी हुने भएका छन् । प्रिमियरको लागि निर्देशक मिलन चाम्सले साम्पाङ्गलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणा स्विकार्दै मेयर साम्पाङले नेपाली चलचित्रलाई विश्वमाझ पुर्याउन आफ्नो तर्फबाट सधैँ सहयोग रहने बताएका छन् ।
यो चलचित्रको बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लण्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा आगामी भदौ २४ (१० सेप्टेम्बर) मा प्रिमियर गर्न लागिएको छ । यदाकदा नेपाली चलचित्रहरुको प्रिमियर नेपाल बाहिरका मुलुकहरुमा हुने गरेको पाईयता पनि नेपाली चलचित्रको इतिहासमा नै पहिलोपटक यसप्रकारको प्रिमियर शो को आयोजना हुन लागेको निर्देशक चाम्सले बताए । उनका अनुसार दुई हजार बढी दर्शकले एकसाथ चलचित्र हेर्नेछन् । सो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको बताईएको छ ।
सन् १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकको साहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । नेपाली, अँगंरेजी र हिन्दी भाषामा यो चलचित्र रिलिज हुँदैछ । लण्डन पछि सिंगापुर, हङकङ लगायतका अन्य केहि देशहरुमा प्रिमियरको लागि तयार भएको यो चलचित्रको नेपाल रिलिज भने टुंगो लागिसकेको छैन ।
यसको पोष्ट प्रोडक्सनको काम यतिबेला मुम्बई र लण्डनमा भईरहेको निर्देशक चाम्सले बताए । यो चलचित्रबाट रितेश चाम्सले अभिनयमा डेब्यु गरेका छन् । साथमा विजय लामा, रेबिका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कबिता आले, विरुप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।


