नीरफूलको प्रसंशामा जुटे राजनीतिक व्यक्तित्व



काठमाडौँ।
नेपालका केहि पुर्वमन्त्रीहरुले चलचित्र ‘नीरफूल’को प्रसंशा गरेका छन् । सामाजिक विषयबस्तुको उठान गरेको भन्दै पुर्व सञ्चारमन्त्री पार्वत गुरुङ, पुर्व संस्कृतिमन्त्री रघु पन्त, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य मीनबहादुर शाही, पुर्व सांसद नविना लामा लगायतले विहीबार चलचित्र हेरेपश्चात प्रसंशा गरेका हुन् ।

‘हलमै आएर फिल्म हेरेको मेरो पहिलो अनुभव हो’, पुर्वमन्त्री गुरुङले भने, ‘भुकम्पको त्रासदीसँगै नीरफूलमा सामाजिक विषय उठाइएको रहेछ । निकै खुशी लाग्यो ।’ अर्का पुर्वमन्त्री पन्तले चलचित्र ‘नीरफूल’मा आफूलाई भित्रैदेखि छोएको दावी गरे । ‘चलचित्रको प्रस्तुति नयाँ ढंगको र निकै भावानात्मक रहेछ’, उनले भने, ‘भुकम्पको पृष्ठभुमिमा बैदेशिक रोजगारको कथादेखि थुप्रै बेथितिहरु पनि चलचित्रले उठाएको छ ।’ राष्ट्रिय योजना आयोगका पुर्व सदस्य शाहीले चलचित्रमा हिमाली जनजीवनको सुन्दर प्रस्तुति पाएको बताए ।

त्यस्तै पुर्व सांसद नविना लामाले रुवी भ्यालीको सौन्दर्यसँगै तामाङ समाजको सांस्कृतिक पक्ष सुन्दर ढंगले चलचित्रमा उतारिएको दावी गरिन् । मुलुकभर तेस्रो हप्तामा प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘नीरफूल’ फूलमान वलले निर्देशन गरेका हुन् ।

‘फ्यामिली मिसिङ’को कथासँगै राज्यप्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमाल मुनिको रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको छ । चलचित्रले मौलिक, यथार्थपरक र ‘सिस्टम भर्सेस भुइँमान्छे’ को सन्दर्भ उठान गरेको भन्दै समिक्षकहरुबाट प्रसंशा बटुलिरहेको छ ।

दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेको फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो । सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायतले निर्माण सहकार्य गरेका छन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu