
काठमाडौँ।
अन्ततः चलचित्र ‘परस्त्री’ले प्रदर्शन अनुमतिपत्र प्राप्त गरेको छ । सेन्सरले नोट गरेका विभिन्न ६ वटा दृश्यलाई काँटछाँट गरेपछि यस चलचित्रले पिजि प्रमाणपत्र प्राप्त गरेको हो । पिजि प्रमाणपत्र पाउनु भनेको १६ बर्ष मुनिका दर्शकले अभिभावकसँग बसेर मात्र चलचित्र हेर्न पाउनु हो ।
यही असार १५ गते रिलिज हुने यस चलचित्रमा बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँचपास समितिले प्रदर्शन अनुमति दिएको थिएन ।‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
विवाहेत्तर सम्बन्ध र त्यसको सामाजिक असरको कथामा बनेको यो चलचित्र सुरज पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् ।


