पाँचौ पिम नेपाल फिल्म फेष्टिवलमा आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक-नायिका



काठमाडौँ।
पाँचौ पिम नेपाल फिल्म फेष्टिवल आर्यन सिग्देल सर्वोत्कृष्ट अभिनेता र प्रमिला कार्की सर्वोत्कृष्ट अभिनेत्री बनेका छन् । फेष्टिवलमा सिग्देलले चलचित्र डिसेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् । चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड बिकास सुबेदीले प्राप्त गरे ।

तीनदिन सम्म चलेको महोत्सवको अन्तिम दिन शुक्रबार बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरुलाई अवार्ड प्रदान गरिएको थियो । पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै महोत्सव सम्पन्न भएको हो ।

सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड समिर मियाले प्राप्त गरे भने फिचर फिल्म तर्फको जुरी अवार्ड चलचित्र नम्बरी सुनले पायो । फिचर फिल्म निर्देशक तर्फको जुरी अवार्ड चलचित्र डेशानबाट कमल एक्चै मगर र वेष्ट एक्टर जुरी अवार्ड चलचित्र लाखेबाट रोहित रुम्बाले प्राप्त गरेका छन् ।

उत्कृष्ट सर्ट फिल्मको अवार्ड ऐनाले प्राप्त गर्‍यो भने बेष्ट तामाङ फिल्मको अवार्ड आप्लेङ ला नाम्सा बाट शेखर लामाले प्राप्त गरे । यस्तै वेष्ट भोजपुरी फिल्मको अवार्ड मधेशी पुत्र २ ले प्राप्त गर्दा, मैथली फिल्म समय के खेलाबाट विक्रम गुप्ताले अवार्ड हात पारे त्यसै गरि नेपाल भाषाको फिल्म अवार्ड रोजिन महर्जनले चलचित्र उच्च शिक्षाबाट प्राप्त गरेका छन् । समारोहमा उत्कृष्ट चलचित्र पत्रकारको अवार्ड कुबेर गरी र उत्कृष्ट मनोरञ्जन पत्रकारको अवार्ड कृष्ण कँडेलले प्राप्त गरेका छन्

समारोहमा विभिन्न विधामा उत्कृष्ट योगदान दिएका कलाकर्मीहरुलाई सम्मान समेत गरिएको छ । समारोहमा निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दिपक बिहिन, चलचित्र पत्रकार सचित खड्का, लोकगायक रामकुमार नेपाली र लोकगायक अमृत भारतीलाई सम्मान गरिएको छ ।

निर्देशक माधवराज खरेल संयोजक रहेको निर्णायक कमिटीमा चलचित्र पत्रकार बिजय रत्न तुलाधर, चलचित्र पत्रकार बिष्णु सुबेदी, लोक गायक कुलेन्द्र विश्वकर्मा, गायक शिव परियार, मेकअप आर्टिष्ट बिक्रम गौतम, सञ्चारकर्मी दिर्घराज उपाध्याय, सञ्चारकर्मी कमलनाथ अधिकारी र फिल्म अर्काइभिष्ट चिरञ्जिवी गुरागाईं रहेका थिए । निर्णायक समितिले अफिसियल सेलेक्सनमा परेका चलचित्रहरुबाट विभिन्न मापदण्डका आधारमा उत्कृष्टको टुङ्गो लगाएको संयोजक खरेलले जनाएका छन् ।

आयोजक संस्था पावर नेपाल इन्टरनेशनल मिडिया नेपालका सल्लाहकार शान्तिप्रियको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बरिष्ठ संगीतकार सम्भुजित बासकोटा, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, बरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, बरिष्ठ निर्देशक ऋषी लामिछाने, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चर्चित गायिका देविका बन्दना, गायक सिताराम पोखरेल, कलाकार रश्मि भट्ट, नृत्य निर्देशक दिनेश पाख्रिनलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फेष्टिवल निर्देशक कमला जोशीले हरेक वर्ष थप भब्यताका साथ फेष्टिवल सम्पन्न हुँदै आएको भन्दै आगामी वर्षमा अझ भब्य रुपमा सम्पन्न गरिने बताइन । अवार्डलाई निश्पक्ष बनाउन आफुहरु निकै सजक रहेकोले पनि फेष्टिवलका हरेक संस्करणलाई सबैले स्वीकार गरेको उनको भनाई छ । यस्तै बरिष्ठ संगीतकार शम्भुजित बासकोटाले फेष्टिवलका हरेक संस्करणले आफै यसको गरिमा बोलको भन्दै आफुले खासै बखान गरिरहन नपर्ने बताएका छन् । बुधबार गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेको फेष्टिवलमा अफिसियल सेलेक्सनमा परेका फिचर तथा सर्टफिल्महरु प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu