
काठमाडौँ।
अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्धको मुद्दामा उच्च अदालत जानसक्ने संकेत गरेका छन् । बुधवार काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेपछि उनले फैसलाको पूर्णपाठ पर्खिएको बताएका छन् । शाहले सामाजिक सञ्जालमा आफुले मुद्दा जितेको बताएको प्रति लक्षित गर्दै केसीले साम्राज्ञीविरुद्ध आफुले मुद्दा दायर गरेकोले उनले जितेको नभई आफ्नो मुद्दामा मागदाबी नपुगेको मात्र भएको स्पष्ट पारे ।
तपाईंले नजितेपछि साम्राज्ञीले जितेको भएन र ? भन्ने हाम्रो प्रश्नमा केसीले भने, “उहाँले न्याय मागेर मेरो विरुद्ध मुद्दा दिनुभएको होइन । अपमानजनक शब्दहरू प्रयोग भएपछि म अन्यायमा परेको महशुस गरी मैले न्याय माग्दा मैले नपाएको हो, उहाँले प्राप्त गर्नुभएको होइन । उहाँले मेरो मानहानी गरेपछि मैले क्षतिपुर्ती मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा उहाँ विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेको हुँ ।”
कसरी मागदाबी नपुगेको जस्तो लाग्छ भन्ने प्रसंगमा केसीले भने, “उहाँले बहसको क्रममा रुँदै ‘मैले भुवन केसीलाई आरोप लगाएकै होइन’ भन्नुभएको थियो । सो मुद्दामा सम्मानित अदालतले मैले गरेको मागदाबी नपुग्ने मात्र फैसला गरेको हो । फैसलाको पूर्णपाठ आउन बाँकी नै छ, आइसकेपछि म उच्च अदालत जाने ढोका खुला नै छ ।”
केसीले २०७७ साउन ९ गते साम्राज्ञीविरुद्ध गालीबेईज्जती मुद्दा दायर गरेका थिए । बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता केसीको गाली बेइज्जती मुद्दामा बुधबार दाबी नपुग्ने फैसला गरेको थियो ।


