
काठमाडौँ।
अभिनेत्री झरना थापाको चौंथो निर्देशनमा बनेको चलचित्र ‘एक भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरूलाई समेट्दै तयार पारिएको टिजरमा मिथिला क्षेत्रका घटनालाई समेटेको छ । टिजरका दृश्यमा सामाजिक द्वन्द्वका दृश्यलाई प्रमुख स्थान दिईएको छ ।
अभिनेता विपिन कार्कीलाई कमलामाईको अवतारमा प्रस्तुत गरिएको छ । विपिनसहित सुहाना थापा, धिरज मगर, कबिर खड्का, जेभिस एण्ड जेभिन श्रेष्ठ सहितलाई टिजरमा राखिएको छ । यो चलचित्र भदौ २९ गते हलमा रिलिज हुँदैछ ।
यसअघि नायिका सुहानाले निभाएको पात्रको परिचयात्मक भिडियो सहितको टिजरमा यो चलचित्रको नाम ‘भगवत् गीता’ मात्र राखिएको थियो । नयाँ मिति सहितको टिजरमा भने यो चलचित्रको नाम ‘एक भगवत् गीता’ राखिएको छ । यस बिषयमा निर्माता सुनिल कुमार थापाले कसैको धार्मिक भावनामा ठेस नपुगोस् भन्ने उद्देश्यले नाम परिवर्तन गरिएको बताए ।
यो चलचित्रमा झरना थापाको कथा रहेको छ भने झरना, सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको छ । परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् । हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत रहेको छ । डिओपी राजेश श्रेष्ठ, सम्पादक मित्र डि. गुरुङ्, एक्शन हिमाल केसी, कोरियोग्राफी कबिराज गहतराज, साउण्ड उत्तम न्यौपाने, कलर राजेन्द्र मोक्तान, ब्याकग्राउण्ड स्कोर शैलेश श्रेष्ठ, भिएफएक्स अनुपम गौतमको रहेको छ ।
टिजर हेर्नुहोस्ः


