स्टुडियोको लागि जग्गा प्राप्त हुनु सबै चलचित्रकर्मीको सफलता होः अध्यक्ष केसी



काठमाडौँ।
नेपाल सरकारले चलचित्र छायाङकनका लागि इन्डोर स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्डलाई काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ को जग्गा प्रयोग गर्न स्विकृती दिने निर्णय गरेको छ । यो निर्णयपछि चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले सबै नेपाली चलचित्रकर्मीले सफलता प्राप्त गरेको बताएका छन् ।

केसीले भने “म निकै खुसी छु । नेपाली चलचित्र क्षेत्रले नयाँ फड्को मार्नसक्ने योजनामा चलचित्र विकास बोर्डमा अध्यक्ष भएर आएको पहिलो दिनदेखि इन्डोर छायाङ्कन स्टुडियोको लागि जुन मेहनत गरेँ, त्यसबाट आज हामी सबै चलचित्रकर्मीले सफलता प्राप्त गरेका छौँ भन्ने मैले महशुस गरेको छु ।” उनले आफ्नो कार्यकालको एक प्रमुख कामको रुपमा अत्याधुनिक स्टुडियो निर्माणको सो जग्गामा भ्रमण गरी र वन मन्त्रालयसहित सम्बन्धित विभिन्न निकायहरूसँग कयौँ पटक छलफल गरेको बताए ।

“नेपालको राष्ट्रिय चलचित्र उद्योगको हितको लागि नेपाल सरकारले गरेको यो निर्णयको हामी चलचित्रकर्मीले हार्दिक स्वागत गर्दछौँ । हामीले हाम्रो नेपाली चलचित्रको वृद्धि विकाससँगै पुरा नेपाललाई नै अन्तराष्ट्रिय चलचित्रहरुको लागि समेत खुला स्टुडियोको रुपमा प्रचारप्रसार गरिरहेका छौँ”, केसीले भने, “आगामी दिनमा पनि सरकारले यसैगरी नेपाली चलचित्रलाई सघाउँदै जानेछ भन्ने विश्वास लिएको छु । यो निर्णयको भागिदार नेपाल सरकारका सम्पूर्ण निकायहरुप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu