देशभरका चलचित्र हलहरुमा पाइरेसी विरुद्धको सामग्री देखाउन बोर्डको पत्राचार



काठमाडौँ।
चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसी विरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरुमा देखाइने भएको छ। बिहिवार देशभरका चलचित्र हल सञ्चालकहरुको छाता सङ्गठन नेपाल चलचित्र सङ्घलाई औपचारिक पत्र काट्दै हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देश गरेको छ।

बोर्डले आ.व.२०७९।८० को बजेटबाट निर्माण गरेको उक्त श्रव्य दृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ। बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ। यो सामग्रीमा प्रियंका कार्की, रुबि श्रेष्ठ, डिक्की गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने सुयोग गुरुङले निर्देशन गरेका छन् ।

यो सामग्रीमा चलचित्र र चलचित्रजन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ। साथै, यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेत र नेपाल प्रहरीका डिआईजी कुबेर कडायतको पाइरेसी सम्बन्धी कानुनी प्रावधानहरु सहितको भनाई राखिएको छ।

बोर्ड अध्यक्ष केसीले यो सामग्रीले समस्त दर्शकवर्गमा पाइरेसी सम्बन्धी जनचेतना जगाउने विश्वास व्यक्त गर्नु भयो। उहाँले बोर्डले वर्तमानमा डरलाग्दो स्थितीमा रहेको पाइरेसी समस्या समाधानको लागि जनचेतना जगाउने विभिन्न कार्यक्रमहरूसँगै साइबर सेक्युरिटी डेस्क स्थापनाको लागि पनि कार्य गरिरहेको बताए । साथै, केसीले नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा प्रवर्धन गर्ने विभिन्न योजनाहरुमा समेत काम गरिरहेको बताए ।

यो सामग्री चलचित्र हलहरुमा चलचित्र सुरु हुने समयमा प्रदर्शन गर्ने साथै, अन्य सार्वजनिक स्थलहरुमा समेत निरन्तर प्रदर्शन गर्ने तयारी रहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu