शनिवार ‘बगान’को व्यापारमा उत्साह, शो सङ्ख्या समेत थपिए



काठमाडौँ।
यो शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिवार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन । लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिवार नै केही शो सङ्ख्या थप भएकोमा शनिवारको व्यापारपछि आइतवारको लागि अझै थप शो थपिएको काठमाडौँ उपत्यका वितरक करण श्रेष्ठले बताए ।

वितरक श्रेष्ठले पछिल्लो समयमा चलिरहेका चलचित्र भन्दा अत्यन्त राम्रो व्यापार भएको बताए । उनले असारको झरीमा समेत दर्शकलाई हलसम्म ल्याउन ‘बगान’ सफल रहेको बताए । “आज काठमाडौँ उपत्यकाका प्रायः हलहरू हाउसफुल देखिएका छन् । काठमाडौँ बाहिरबाट पनि राम्रो खबर आएको छ । हिजोभन्दा आज हल थपिएको छ भने आइतवार पनि हल सङ्ख्या थप भएका छन् । यसको मतलब यो चलचित्र सफल हुने बाटोमा छ”, ग्रस कलेक्सनको रिपोर्ट आजै प्राप्त नहुने जनाउँदै श्रेष्ठले बताए ।

शनिवार पनि काठमाडौँका विभिन्न हलहरूमा पुगेका निर्देशक तथा अभिनेता सरोज खनालले आफुले जुन उद्देश्यले हामीले चलचित्र बनाएको हो, त्यो पुरा हुने बाटोमा अगाडी बढेको बताए । उनले भने, “हाम्रो चलचित्रको उद्देश्य पुरा हुँदैछ । यो शुक्रवारदेखि नै ब्लकबस्टर हुने चलचित्र होइन, एकजनाले हेरेर दुईजनालाई हेर्नुस् भन्ने चलचित्र हो ।” व्यापारको सन्दर्भमा खनालले आफु निर्देशक भएकोले व्यापारको दृष्टिकोण नराखेको बताए । “हामी हलमा पुग्दा अँगालो हालेर रुनुभएको छ, त्यो नै मेरो सफलता हो । व्यापारिक रुपमा पनि यसले राम्रो नतिजा दिईरहेको छ, स्थिती हेर्दा निर्माता सुरक्षित हुनुहुन्छ”, उनले थपे ।

अभिनेत्री करिश्मा मानन्धरले आफुलाई नयाँ प्रकृतिको भूमिकामा दर्शकले स्विकारेको बताईन् । “दर्शकको आँखामा जुन श्रद्धा भाव देखेँ मेरो लागि नितान्त नयाँ अनुभव हो । पहिले मलाई ग्लामरस नायिकाको रुपमा हेर्नुहुन्थ्यो भने अहिले दृष्टिकोण फेरिएको छ ।” उनले ‘बगान’मा रोना धोना मात्र नभई खुशी कसरी हुने, समस्याको समाधान के हो भन्ने कुराहरु पनि रहेको बताईन् । उनले थपिन्,”कति धेरै समस्या रहेछन् नि हैन ? यो चलचित्र सबैको कथा जस्तो भएको छ । कतिले मन थाम्न सक्दिन होला पनि भन्नु भाको छ, म चाहिँ आएर हेर्नुस भन्छु ।”

‘बगान’बाट ठुलोपर्दामा प्रवेश गरेकी प्रमिला कार्कीले ‘बगान’ रिलिज पछिका हरेक पल आफ्नो लागि नयाँ रहेको बताईन् । आफ्नो भूमिकाले समाजमा सकारात्मक सन्देश फैलाउन सफल रहेको जनाउँदै कार्कीले भनिन्, “म एकदमै उत्साहित भएको छु । चलचित्रमा मैले निभाएको पात्रले आफ्नो आमाको लागि जुन काम गरेको छ, केहिले त आफ्ना साना साना छोराछोरीलाई ‘बगान’ देखाएर यो दिदि जस्तै बन्नुपर्छ है समेत भन्नुभएको पाएँ । त्यो सुन्दा म भावुक भएँ ।”

‘बगान’का निर्माता सुरेश वाग्लेले दर्शकलाई मनपर्ने बिषयमा लगानी गरेको रहेछु र ठिक गरेको रहेछु भन्ने महशुस भएको बताए । उनले भने, “पहिलो पटक चलचित्र बनाएको म शनिवार दर्शकको साथले खुशी भएको छु ।”

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu