काठमाडौँ।
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ सुरू हुने भएको छ । केही महिनापछि प्रसारण सुरु हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको आयोजक एजे इन्टरटेनमेन्टले जानकारी गरायो । यसमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको भूमिकामा हुनेछन् भने होस्ट पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।
यो शोमा प्रथम हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिने आयोजक संस्थाका अध्यक्ष अजय पोखरेलले बताए । पत्रकार सम्मेलनमा लोकगायिका कोमल वली, समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्का लगायतको उपस्थिति थियो ।