
काठमाडौँ।
अन्तिम समयमा आएर अमेरिकाको टेक्ससमा हुने भनिएको ‘नेफ्टा फिल्म अवार्ड’को ११ औँ संस्करण पुनः स्थगित भएको छ । यसअघि एकपटक पोस्टपोन्ड भई यही २२ जुलाईमा आयोजना हुने भनिएको अवार्ड पुनः स्थगित भएको हो ।
नेपालको आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)का अध्यक्ष पुस्कर लामाले २२ जुलाईमा तय भएको अवार्ड कार्यक्रम अर्को मितिमा आयोजना गर्ने गरी सारिएको बताए । उनले केहि प्राविधिक कुराहरूलाई सुल्झाएपछि पत्रकार सम्मेलनको आयोजना गरी नयाँ मितिबारे जानकारी दिने बताए ।
नेफ्टाका महासचिव युवराज कार्कीले स्थगित नभई अन्तिम पटक पोस्टपोन्ड गरिएको बताए । “यो अन्तिम पटकलाई सारिएको हो । हामीले यसअघि दुई महिना समय माग भएबमोजिम दिएका थियौँ तर केहि समस्याहरू आईलागेपछि पुनः सारिएको हो । हामीले छिट्टै अर्को मिति सार्वजनिक गर्नेछौँ “, कार्कीले बताए । अवार्डको नाममा मानव तस्कर गयो भनेर अमेरिकी दुतावासलाई खबर गर्नेहरूलाई अमेरिका आयोजकले स्थानीय कानून अनुसार कारबाहीको प्रक्रियामा लगेको र त्यसको टुंगो लाग्नासाथ नयाँ मिति घोषणा हुने उनले बताए ।


