
काठमाडौँ।
गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जारी’ले सुनौला सय दिन पार गरेको छ । नेपाली चलचित्र एक समयमा ५१ दिन र १०० दिन मनाउने फेशन नै थियो । तर, पछिल्लो दशकको अवस्था त्यो थिएन । सम्भवत पछिल्लो दशकमा ‘जारी’ र ‘शत्रु गते’ले मात्र १०० दिनको आँकडा पुरा गरेका छन् ।
करिब ५ वर्ष अघि २०७५ सालमा ‘शत्रु गते’ले १०० पार गरेको थियो । ‘जारी’ले काठमाडौँ उपत्यकाका तीनवटा हल क्यूएफएक्स चेनको सिभिल मल, बिग मुभिज र एफक्यूब हलमा आजसम्म चलेको छ । चलचित्र विकास बोर्डले प्रदान गरेको तथ्याङ्क अनुसार यो चलचित्रले १७ करोड १७ लाख ग्रस कलेक्सन गरेको छ । गत आर्थिक वर्षमा रिलिज भएका ५७ वटा चलचित्रहरूमध्ये दोश्रो स्थानमा यसको व्यापार रहेको छ ।
लिम्बु परम्परामाथि आधारित रहेको यो चलचित्रलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई र मिरुना मगरको प्रमुख अभिनय रहेको छ । राई र मगरका अलावा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको पनि अभिनय रहेको छ । सर्वाधिक व्यापारको रेकर्ड भएको चलचित्र ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले यसलाई निर्माण गरेका हुन् ।


