
काठमाडौँ।
इटलीको भेनिसमा हुने भेनिस फिल्म फेस्टिभलको ८० औँ संस्करणमा नेपाली चलचित्र ‘दि रेड सुटकेस’ छनोटमा परेको छ। यो चलचित्र सो फेस्टिभलको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधाको प्रतिष्पर्धामा छनोट भएको हो। फेस्टिभल अगस्ट ३० देखि सेप्टेम्बर ९ सम्म चल्नेछ।
फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेको यो चलचित्र आइसफल प्रडक्सनले निर्माण गरेको हो। वैदेशिक रोजगारी र त्यसले हाम्रो समाजमा पारेको प्रभावको कथामा आधारित यो चलचित्रका निर्देशक देवकोटा जर्मनीको युनिभर्सिटीमा भिज्युवल एन्थ्रोपोलोजी प्राध्यापन गर्छन्।
यो चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको अभिनय रहेको छ। यसका निर्माता रामकृष्ण पोखरेल हुन्।


