
काठमाडौँ।
केही वर्ष पहिलेसम्म कालो धनलाई सेतो बनाउन चलचित्रमा लगानी गर्ने गरेको आरोप नेपाली चलचित्रका केही निर्मातालाई लाग्ने गर्थ्यो । तर, त्यसको पुष्टी भने हुँदैनथ्यो । २०७३ सालमा चलचित्र बनाएका एक निर्मातालाई अहिलेको तातो बिषय एक सय किलो सुन तस्करी आरोप लागेको छ । उनको घरमा बुधबार राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेपछि उनी चर्चामा आएका छन् ।
२०७३ असार १७ गते रिलिज भएको चलचित्र ‘तीन घुम्ती’का निर्माता राकेशकुमार अडुकिया अहिले अनुसन्धानको घेरामा छन् । विभिन्न व्यापारमा हात हालेका उनलाई तस्करीमा संलग्न भएको आरोपमा घरमा छापा मार्ने समयमा देश छोडिसकेको खबरहरू आएका छन् । उनले नेपाल र भारत दुवै देशको राहदानी बोक्ने गरेको दाबी समेत गरिएको छ ।
उनले बनाएको चलचित्र नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास‘तीन घुम्ती’मा आधारित छ । यस चलचित्रका निर्देशक बाबुराम ढकाल हुन् । यसमा गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्कीको प्रमुख अभिनय रहेको छ ।


