चलचित्रमा छोरीहरूको प्रवेश बिद्रोह थियो, युगले सम्झिरहने छः मन्त्री शर्मा



काठमाडौँ।
नेपालमा बनेको पहिलो नेपाली चलचित्र ‘आमा’का तीन अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य बसुन्धारा फाउण्डेशनले वि.सं. २०७८ र २०७९ सालको ‘भुवन चैत्य बसुन्धरा पुरस्कार’ प्रदान गरेको छ । आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतको उपस्थितीमा विशिष्ट चलचित्रकर्मीहरूलाई पुरस्कार प्रदान गरिएको हो ।

Photo by: Surendra Thapa

२०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक तथा गीतकार यादव खरेल र ०७९ सालको हरिश–भुवन चन्द पुरस्कार अभिनेता तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ । यस्तै, संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान भएको छ । अभिनेत्री मिथिला शर्मालाई २०७८ साल र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसन्धरा भुसाल पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी जनही रु ५१०००।- रहेको छ ।

वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रंगमन्च, गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत–पत्र प्रदान गर्दै आएको छ ।

पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले चलचित्र विकास बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता जनाएकी छन् । उनले हिजो श्वेत पर्दाबाट सुरु भएको नेपाली चलचित्र क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले त्यसमा आवश्यक परिमार्जनको काम थालिएको बताईन् । उनले नेपाली चलचित्रहरु बिदेशी चलचित्रहरुसित प्रतिष्पर्धा गर्नसक्ने बनाउन आवश्यक रहेको बताईन् । यसका लागि सरकारको नीतिगत सहयोग हुने र चलचित्र निर्माताहरुले पनि गुणस्तरमा ध्यान दिनुपर्ने जिकिर गरिन् ।

नेपाली चलचित्र क्षेत्रमा महिलाको प्रवेश सुरु गराउने भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालको भूमिका प्रशंसा गर्दै मन्त्री शर्माले आज पनि छोरीलाई हरेक काममा छोरासरह जिम्मेवारी दिन आनाकानी गर्ने नेपाली समाजमा त्यतिबेला छोरीहरु चलचित्र क्षेत्रमा प्रवेश गर्दा झेल्नुपरेका कठिनाईलाई आजको पुस्ताले कल्पना मात्र गर्न सक्ने बताईन् । त्यो एक अभियान रहेको बताउँदै शर्माले समाज रुपान्तरणमा ठूलो बिद्रोह भएको र नेपाली समाजले युगयुगसम्म यसको मूल्यांकन गरिरहने बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu